खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अस्थायी कोभिड(१९ अस्पतालबाट रेबिजविरुद्धको खोप सेवा उपलब्ध गराउने भएको छ ।
कुकुर, स्यालजस्ता जनावरले टोकेका बेला रेबिजविरुद्धको खोप लगाउन काठमाडौं, ओखलढुंगा वा जिल्ला अस्पताल दिक्तेल पुग्नुपर्ने बाध्यता अन्त्यका लागि नगरपालिकाले स्वास्थ्य चौकी दुर्छिममा स्थापना गरिएको अस्थायी कोभिड(१९ अस्पतालबाट एन्टी रेबिजविरुद्धको खोप सेवा उपलब्ध गराउने तयारी गरेको हो ।

संघीय सरकारले ३ महिनासम्म आर्थिक सहयोग गर्ने गरी स्थापना गरिएको अस्थायी कोभिड(१९ अस्पताललाई नगरपालिकाको स्रोत(साधनबाट स्थायी रूपमा निरन्तरता दिने तयारी गरिएकाले रेबिजविरुद्धको खोप सेवा थप गरिएको हो ।
नगरपालिकाको पहलमा सामान्य अस्पतालसरह निरन्तरता पाउने अस्थायी कोभिड(१९ अस्पतालमा १ जना एमबीबीएस डाक्टर कार्यरत भएकाले रेबिजविरुद्धको खोप सेवा प्रवाह गर्ने तयारी गरिएको नगरप्रमुख इवन राईले बताए ।
केही समयअघि सम्पन्न नगर कार्यपालिका बैठकले नगरपालिकामा स्थापना गरिएको अस्थायी कोभिड(१९ अस्पतालमा एन्टी रेबिज भ्याक्सिनको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
नगर कार्यपालिकाको सोही निर्णयअनुसार जिल्ला अस्पतालसँगको सहकार्यमा एन्टी रेबिज भ्याक्सिन सेवा उपलब्ध गराउने तयारी पूरा भएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा सह(संयोजक प्रकाश घिमिरेले बिहीबार जिल्ला अस्पतालबाट एन्टी रेबिज भ्याक्सिनको ५० डोज बुझिसकेका छन् ।
‘नगरपालिकामा स्थापना गरिएको अस्थायी कोभिड(१९ अस्पतालमा एमबीबीएस डाक्टर कार्यरत रहेकाले एन्टी रेबिज भ्याक्सिन उपलब्ध गराउन महामारी रोग केन्द्र काठमाडौं टेकुमा पत्राचार गरेका थियौँ’, उनले भने ।
आगामी दिनमा प्रदेशबाट जिल्ला अस्पतालमार्फत नगरपालिकालाई ५० डोज एन्टी रेबिज भ्याक्सिन नियमित प्राप्त हुने नगरपालिकाका स्वास्थ्य शाखा सह(संयोजक घिमिरेले बताए ।
‘नगरपालिकामा भुस्याहा कुकुरको समस्या छ । टोकिहाले रेबिजविरुद्धको खोप लगाउन अन्यत्र जानुपर्ने बाध्यता छ,’ नगरप्रमुख राईले भने, ‘कोभिड(१९ अस्पतालमा जनशक्ति भएकाले एन्टी रेबिज भ्याक्सिनको व्यवस्था गर्न सकिन्छ भनेर छलफल गरेका हौँ । जिल्ला अस्पतालसँगको सहकार्यमा केही डोज भ्याक्सिन व्यवस्था गरिसकेका छौँ ।’
यसअघि ऐँसेलुखर्क गाउँपालिकाले गत बैशाखदेखि नै प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिजविरुद्धको खोपको व्यवस्था गरिसकेको छ । स्वास्थ्यकर्मीका अनुसार रेबिजविरुद्धको पहिलो खोप ३ दिन, ७ दिन, १४ दिन र २१ दिनमा लगाउने गरिन्छ ।-पालिका खबर

