महेन्द्रनगर २० माघ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनखेतमा रहेको महिला तथा वृद्ध सेवा केन्द्र आत्म निर्भर बन्न थालेको छ । दाताहरुको सहयोग कम हुदैँ गएका बेला व्यवसायि उत्पादनसँगै सेवा केन्द्र आत्म निर्भरतर्फ उन्मुख हुन थालेको हो । सेवा केन्द्रले कुखुरा पालन, बाख्रा पालन र च्याउ खेती गरिरहेको छ ।

सेवा केन्द्रकी सञ्चालक एंव समाजसेवी शारदा चन्दले आर्थिक अभाव हुन थालेपछि आफै व्यवसायमा लागेको बताईन् । उनका अनुसार सेवा केन्द्रले कुखुरा पालन, बाख्रा पालन र च्याउ खेतीबाट आएको पैसाले दैनिक खर्च चलाई रहेको छ । ‘आश्रम सञ्चालन गरेको अहिले १४ वर्ष भयो, अहिलेसम्म मुठीदानबाट चलिरहेको थियो ।’ उनले भनिन् पछिल्लो समय दाताहरुकोे सहयोग घटेको छ, यसले सेवा केन्द्र सञ्चालनमा निकै समस्या भईरहेकोले हामी आफै उत्पादनसँग नजोडिई भएन् ।’
उनले पहिलो र दोस्रो चरणमा दुई÷दुई पोका च्याउ उत्पादन गरेर विक्री गरेको बताईन् । नौ सदस्यीय कार्य समितिका पदाधिकारीको श्रमबाट व्यवसाय सञ्चालन भईरहेको उनको भनाई छ । त्यस्तै सेवा केन्द्रले लोकल कुखुरा पालेर अण्डा विक्री वितरण पनि गरिरहेको छ ।
‘पहिला बजारमा लगेर च्याउ बिक्री ग¥यौ, अहिले ग्राहक सेवा केन्द्रमै पुग्छन् उनले भनिन्– ‘त्यस्तै लोकल कुखुराको अण्डाको पनि माग अत्यधिक छ, दैनिक रुपमा अण्डा बेचेर पनि खर्च जुटाईरहेको छौँ ।’
हाल करिब ५ सय लोकल कुखुरा पालन गरिरहेको उनले बताइन् । लोकल कुखुरालाई आहारा पनि घरमै उत्पादित मकै, गहुँ पिसेर खुवाउने गरेको उनको भनाई छ । केन्द्रले स्वउद्यमबाटै ५० प्रतिशत सञ्चालन खर्च धानि रहेको छ ।
संघिय संरचना पछि सेवा केन्द्र सञ्चालनका लागि सरकारी सहयोग नपाएको उनको गुनासो छ । त्यस्तै केन्द्रले भीमदत्त नगरपालिका वडा नम्बर १५ र १८ मा दुई बिघा जमिन लिजमा लिएर अन्नबाली र तरकारी खेती पनि गरिरहेको छ । २०६५ साल देखी महिला तथा वृद्ध सेवा केन्द्र सञ्चालनमा आएको सेवा केन्द्रमा हाल ६२ वृद्ध बृद्धाले आश्रय लिएका छन् ।

