महेन्द्रनगर ०१ फागुन ।
जनयुद्ध तथा जन आन्दोलनका शहीद हरुको सम्झनामा नेकपा कञ्चनपुरले बैजनाथ धाम वृद्धाश्रममा खाद्यान्न तथा फलफूल वितरण गरेको छ । शहीद हरुप्रति एक मिनेट मौनधारणसहित वृद्धाश्रममा रहेका जेष्ठ नागरिकको सम्मानमा फलफूल तथा खाद्यान्न वितरण गरिएको नेकपाको नेता राधाकृष्ण जोशीले बताए ।

त्यस्तै फलफुल तथा खाद्यान्न हस्तान्तरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य कृपाराम राना र कलशा महराले शहीद को रगतको सम्मान गरिने धारणा राखे । भने नेकपाका केन्द्रीय सदस्य युवा नेता ओम बिक्रम भाट र कृष्णपुर नगरपालिका मेयर कर्ण हमालले शहीदहरुको सम्मान हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा बेदकोट नगरपालिका वडा नं ९ का अध्यक्ष राम धामी, बेदकोट नगरपालिका वडा नं २ का अध्यक्ष नरेश सिंह, नेकपा बेदकोटका नगर अध्यक्ष ललित बहादुर परियार, नेकपाका युवा नेता सिके भट्ट, प्रेस संगठनका नेता कर्ण बहादुर चन्द, बेदकोट नगर विकास समितिका अध्यक्ष खगेश्वर बोहरा, एकिकृत अखिल नेपाल शिक्षक संघका वरिष्ठ प्रदेश उपाध्यक्ष थिरेन्द्र भट्ट, युवा नेता बिवेक बोगटी लगायतका नेकपा नेताहरुले बैजनाथ धाम वृद्धाश्रमका उपाध्यक्ष मोहन चन्दलाई खाद्यान्न तथा फलफूल हस्तान्तरण गरेका थिए ।

२०५२ साल फागुन १ गते देखि नेपालमा शुरु भएको जनयुद्धका क्रममा राज्य पक्ष र बिद्रोही माओवादी पक्षबाट १४ हजार ६ सय ३७ जना नागरिक मारिएका थिए ।
जसमध्ये राज्यसत्ताबाट माओवादी तथा माओवादीका नाममा १० हजार १ सय १७ जनाको हत्या गरिएको थियो १ हजार १ सय १५ जना बेपत्ता पारिएका थिए । यसैगरी माओवादी तर्फबाट राज्यपक्ष वा अन्य गरि ३ हजार ४ सय ५ जनाको हत्या गरिएको थियो ।
