महेन्द्रनगर ३ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेशका नौ जिल्लाका विभिन्न स्थानीय तहलाई पर्यटन पुर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको हो । मन्त्रालयले जिल्लाका चार स्थानीय तहलाई १४ करोड ९४ लाख बजेट विनियोजन गरेको हो ।
मन्त्रायलले स्थानीय स्तरका पर्यटकीयको क्षेत्रको विकास र प्रर्वद्धनका लागि स्थानीय तहसँग विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) सहित आवश्यक बजेटका लागि प्रस्तावना पेश गर्न माग गरेको थियो । जसमा नगरपालिकालाई अधिकतम ७ करोड र गाँउपालिकालाई ५ करोडसँम्मको योजना माग गर्न परिपत्र गरिएको थियो ।

कार्यक्रम अन्र्तगत जिल्लाको वेदकोट नगरपालिका, भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाडी गाँउपालिका छनौटमा परेको हुन् । छनौटमा परेको भीमदत्त नगरपालिकाले सालघारी क्षेत्रमा इको पार्क निर्माण गर्ने जनाएको छ ।
उक्त पार्क निर्माणका लागि ७ करोड लाग्ने अनुमान गरिएकामा संघिय सरकारलाई ४ करोड ५० लाख बजेट विनियोजन गरेको छ । भने भीमदत्तले २ करोड ५० लाखको साझेदारी गर्नु पर्नेछ । भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले पार्क निर्माण कार्य अगाडी बढेको बताउँदै गुरु योजना अनुसार आधुनिक पार्क निर्माण गरिने बताए ।
त्यस्तै वेदकोट नगरपालिकाको लिङ्गेश्वर धार्मीक पर्यटकीय क्षेत्र छनौटमा परेको छ । सो क्षेत्रका लागि ७ करोडको डिपीआर तयार भएकोमा मन्त्रालयले ४ करोड ४० लाख बजेट विनियोजन गरेको छ । भने नगरपालिकाले दुई करोड ५० लाखको साझेदारी गर्नुपर्नेछ । नगर प्रमुख अशोक कुमार चन्दले लिङ्गेश्वर धामलाई धार्मीक पर्यटीय क्षेत्रको रुपमा विकास गरिने बताए । उनका अनुसार गुरु योजना अन्र्तगत जैविक विविधता संरक्षण, भुक्षय नियन्त्रण, पार्क, पार्कीङ स्थल, धर्मशाला लगायतका संरचना निर्माण गरिने छ । त्यस्तै नेपालका सबै ठाँउको शिवका प्रतिमुर्ती समेत राख्ने नगरपालिकाको योजना रहेको नगर प्रमुख चन्दको भनाई छ ।
त्यस्तै कृष्णपुर नगरपालिका र लालझाडी गाँउपालिकामा पनि पार्क निर्माणका लागि बजेट विनियोजन भएको छ । कृष्णपुर नगरपालिकामा रहेको गडबिजुला सामुदायिक वनमा साझेदारीमा इकोपार्क निर्माण हुनेछ ।
इकोपार्क निर्माणका लागि मन्त्रालयले २ करोड ४० लाख र नगरपालिकाले १ करोड २८ लाख बेहोर्ने गरी ३ करोड ६८ लाख विनियोजन भएको हो । गडबिजुला सामुदायिक वन त्यस क्षेत्रमा रहेको प्राकृतिक ताल र विशिष्ट प्रकारको जैविक विविधता रहकाले त्यहाँ पार्क निर्माण गरिन लागेको नगर प्रमुख कर्ण बहादुर हमालले बताए ।
उनका अनुसार उक्त क्षेत्रमा पोखरी, फन पार्क लगायतका आन्तरिक तथा बाह्य पर्यटकलाई आकपर्षित पर्ने संरचना निर्माण गरिने छ ।
त्यस्तै लालझाडी गाउँपालिका–१ सुखडघाटमा पनि पार्क निर्माणका लागि बजेट विनियोजन भएको छ । ४ करोड ९८ लाख निर्माण लगात रहेको उक्त पार्क निर्माणमा लागि मन्त्रालयबाट ३ करोड ४९ लाख बजेट विनियोजन भएको छ भने १ करोड ४९ लाख स्थानीय तहले व्यहोर्नु पर्नेछ । गाउँपालिका प्रमुख मदन सिंह बढायकले निर्माण कार्य छिट्टै अगाडी बढ्ने बताए ।
मन्त्रालयले पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७७ अनुसार प्रदेश र स्थानीय तहको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार निर्माणको काम अघि बढाएको हो ।

