फाल्गुन ३ कैलाली । पटिल्लो समयमा कैलालीमा आतंक मचाइरहेको पाटे बाघ मार्न कैलालीको स्थानीय प्रशासनले आदेश दिएको छ । जिल्ला सुरक्षा समिति कैलालीको आइतबार बसेको बैठकले सुरक्षाकर्मीलाई बाघलाई नियन्त्रणमा लिन सशस्त्र र जनपथ प्रहरीलाई आदेश दिएको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले केही दिनयता आफुहरु सो बाघको गतिविधिलाई गम्भीर रुपमा लिएको र व्यवस्थापन गर्न मातहतका निकायलाई परिपत्र गरेको बताए ।
उनले भने, “नरभक्षी पाटेबाघलाई सकेसम्म ‘डार्ट’ गरेर (बेहोस बनाएर) नियन्त्रणमा लिइने हो । नभए मार्नसम्मको कानुनी प्रावधान छ ।”

त्यस्तै, सो नरभक्षी बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले माथिल्लो निकायसँग पहल भइरहेको बताएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले पाटे बाघ प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेको जानकारी दिए।
उनले भने,“बाघको प्रभावित क्षेत्र जिल्लाको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका क्षेत्रमा सुरक्षा बढाएका छौ। सकेसम्म नियन्त्रण गर्ने हो, नभए मार्ने आदेश आएको छ।”
आइतबार गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयाकी २५ वर्षीया कला धामीको सोही बाघको आक्रमणबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएका महिलाहरुमाथि बाघले आक्रमण गरेको थियो। सोही क्रममा स्थानीय धामीलाई आक्रमण गरेको थियो।
गत शुक्रबार कैलारी गाउँपालिका ८ दुधियाका २८ वर्षीय दुर्गा चौधरीलाई स्थानीय सीता कुँवा सामुदायिक वनमा विहेको लागि पात टिप्न गएको बेला आक्रमण गरि घाइते बताएको थियो। उनको हाल नेपालगञ्जमा उपचार भइरहेको जनाइएको छ।

