महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले निर्मला पन्त हत्या काण्डलाई आफुले पहिलो प्रथामिकतामा राखेको बताएका छन् ।
हालै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतुत्व सम्हालेर आएका एसपी चतुर्वेदीले मंगलबार पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै निर्मला हत्याकाण्ड सल्टाउने आफ्नो पहिलो प्रथामिकता रहेको बताएका हुन् ।
‘मेरो पहिलो प्राथमिकता निर्मला काण्ड सुल्झाउने हो । त्यही अनुरुप काम गर्छु ।’ एसपी चतुर्बेदीले भने ‘ घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’ उनले अगाडी थपे ‘ मेरै कार्यकालमा निर्मला हत्याकाण्ड सल्टाउँछु ।’
उक्त घटनामा संलग्नताको बलियो तथ्य, प्रमाण भेटिएमा भिभिआइपी भएपनि कानूनी दायरामा ल्याउने एसपी चतुर्बेदीले बताए । त्यस्तै उनले कसैलेपनि आफ्नो स्वार्थ अनुरुप सडक, चोकमा नबोली घटना संग सम्बन्धित सूचना भए प्रहरीलार्ई सहयोग गर्ने अपिल गरेका छन् ।
एसपी चतुर्बेदी यसअघि झण्डै तीन महिना कञ्चनपुरमा बसेर निर्मला प्रकरणको अनुसन्धानमा खटिएका थिए । वि.स. २०७५ साउन ११ गते घर नजिकैको उखुवारीमा बलात्कार पछि हत्या गरिएको अवस्थामा निर्मला पन्तको शव भेटिएको थियो । घटना भएको साढे दुई वर्ष बितिसक्दा पनि अपराधी कानूनी दायरामा आउन सकेको छैन ।