महेन्द्रनगर । पर्यटन प्रवद्धनका लागि कैलालीको चिसापानीमा बिच भलिबल प्रतियोगिता तथा साँस्कृतिक महोत्सव २०७७ हुने भएको छ ।
जिल्लाको मोहन्याल गाउँपालिका–७ चिसापानी, पित्मारी स्थित चिसापानी एड्भेन्चर रिसोर्टको आयोजनामा सुदूरपश्चिम अन्तर पालिकास्तरीय बिच भलिबल प्रतियोगिता तथा साँस्कृतिक महोत्सव हुने चिसापानी एड्भेन्चर रिसोर्टका संचालक एवम् बिच भलिबल आयोजक समितिका संयोजक तपेन्द्र रावलले बताए । ‘पर्यटन प्रवद्धनका लागि बिच भलिबल प्रतियोगिता तथा साँस्कृतिक महोत्सव गर्ने भएका छौ ।’ संयोजक रावलले भने ‘ यो नेपाल मै नयाँ खेल हो,यसले पर्यटन बिकास हुन्छ ।’
उनका अनुसार उक्त प्रतियोगिता तथा महोत्सव चैत १० देखी १६ गते सम्म सञ्चालन हुनेछ । ‘चैत १० देखी १६ गते सम्म हुने बिच भलिबल प्रतियोगितामा सहभागी खेलाडीहरुको मनोरञ्जनका लागि साँस्कृतिक कार्यक्रम समेत आयोजना गरेका छौ ।’ संयोजक रावलले भने ‘कार्यक्रममा सर्वसाधारण पनि सहभागि हुन पाउने छन् ।’ हाल टिम दर्ता लगाएत अन्य व्यवस्थापनको काम भइरहेको उनले बताए ।
उनकाअनुसार टिम दर्ता शुल्क १० हजार रहेको छ । ‘हामीले टिम दर्ता शुल्क १० हजार राखेका छौ ।’संयोजक रावलले भने ‘जसअन्तर्गत खेलाडीलाई खान बस्न निशुल्क हुने छ ।’ प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख नगद,द्धितियलाई ५० हजार नगद र तृतियलाई २५ हजार नगद सहित ट्रफी पुरस्कार रहेको संयोजक रावलले बताए ।
के हो बिच भलिबल प्रतियोगिता ?
बिच भलिबल भनेको बालुवामा खेलिने भलिबल खेल हो । ६०/३० फिटको कोर्टमा खेलिने उक्त खेलमा २ जना खेलाडी हुन्छन् । अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको उक्त खेल प्राय समुन्द्र तथा नदीको किनाराको बालुवामा खेलिन्छ ।