महेन्द्रनगर । बिहिबार विहानै कञ्चनपुरको भीमदत्तनगरपालिका–४ महेन्द्रनगर,बसपार्क स्थित राजापुर बर्दियाका विर बहादुर सिंह भेटिए । पिठ्युमा झोला भिरेका उनको अनुहारमा चिन्ता र थकान प्रष्ट देखिन्थ्यो । नेकपा (प्रचण्ड–नेपाल) समुहले गरेको आम हड्तालले भारत बाट फर्केका सिंह महेन्द्रनगरमा अलपत्र परे ।
भारतको सिम्लाबाट घर फर्किरहेका सिंह महेन्द्रनगर बजारमा अलपत्र परेपछि घर जान पाइन्छ की पाइदैन भन्ने कुराले चिन्तित थिए । प्रचण्ड–नेपाल समुहले गरेको आम हड्तालले महेन्द्रनगरका होटेलहरु पनि पूर्ण रुपमा बन्द भएकाले बिहान ६ बजे महेन्द्रनगर पुगेका सिंह १० बजे सम्म भोकै बसेका थिए ।
‘म विहान ६ बजे महेन्द्रनगर पुगेको हु ।’ सिंहले भने ‘हिजो उतै खाना खाएर आएको,भोक लागिरहेको छ, यता होटेलहरु सबै बन्द छन्,अहिले सम्म न खाना खान पाएको छु, न त घर जान नै,घरमा बच्चाहरु कतिखेर आउनु हुन्छ,बाबा ? भनेर फोन गरिरहेका छन् ।’ नेताहरुले आफ्नो कुर्सीका लागि हामी काम गरि खाने जनतालाई दुःख दिएको सिंहले बताए । ‘यी नेताहरुले आफ्नो कुर्सी,आफ्ना परिवारका लागि हामी गरिव,काम गरि खाने जनताका परिवारको पेटमा लात हान्ने गरेका छन् ।’ उनले भने ‘यिनिहरुको कुर्सीको लागि हामीे सोझा जनताले दुःख पाउनु गलत भएको छ ।’
उनि संगै भेटिएका राजघाट,कैलालीका प्रकाश बोहरा पनि घर कती बेला जान पाइने हो भन्ने कुरामा चिन्तित थिए । बोहरा भारतको देहरादुन बाट २ वर्ष पछि स्वदेश फर्केका हुन् । ‘२ वर्ष पछि भारतबाट नेपाल फर्किए तर हाम्रा देशका नेताका कारण आफ्नो देशमा पुगिसकेपनि घर पुग्न पाएको छैन ।’ उनले भने ‘आफ्नै दाजुभाईले घर जाने बाटो छेके,हाम्रो समस्या बुझेनन्,बरु देसीहरुले हाम्रो समस्या बुझछन् ।’
त्यस्तै बिरामी भएपछि भारतको दिल्लीबाट घर फर्किएका टिकापुर कैलालीका जनक ठगुन्ना पनि घर जानलाई महेन्द्रनगर बसपार्कमा गाडीको प्रतिक्षा गरिरहेका थिए । ‘उता बिरामी भएपछि घर फर्किएको, यी नेताहरुले गर्दा आधा बाटो मै अलपत्र परियो ।’ ठगुन्नाले भने ‘हामीलाई नेपाल बन्द छ भन्ने पनि थाहा थिएन ।’ उनले अगाडी थपे ‘हामी विरामी,गरिब,निर्दोष,अलपत्र परेकालाई घर सम्म पुर्याउनु पर्ने हो,तर यहाँ खाना समेत खान पाएका छैनौ ।’
उनकाअनुसार आफु जस्तै अन्य भारतबाट फर्किएका सयौँ नेपालीहरु बन्दले गर्दा अलपत्र परेका छन् । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गरिएको असंवैधानिक नियुक्तिको विरोधमा बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले देशभर आम हड्ताल घोषणा गरेको थियो ।