महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिन भित्र प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्धामा फैसला हुने बताएका छन् । सोमबार दैजी–छेला औद्योगिक क्षेत्रको शिलन्यास गर्न कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले संसद विघटन संम्बन्धि मुद्धामा अबको दुई दिन भित्र फैसला गर्न सक्ने बताएका हुन् ।
दैजी–छेला औद्योगिक क्षेत्र शिलन्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दुई दिन भित्र संसदविघटनको मुद्धामा फैसला हुने र देश निर्वाचन तर्फ जाने बताए । ‘देश निर्वाचन तर्फ जादैछ ।’ प्रधानमन्त्री ओलीले भने ‘अबको दुई÷तीन दिनमा संसद विघटन सम्बन्धि मुद्धामा पनि फैसला हुन सक्छ ।’ उनले अगाडी थपे ‘केही साथीहरुले प्रधानमन्त्री ओलीले अदालतलाई धम्की दिदै छन् भन्ने आरोप लगाएका छन्,ती साथीहरुलाई म भन्न चाहन्छु मैले कसैलाई धम्की दिन आवश्यक छैन ।’
‘हामी न्यायलयलाई धम्काउदैनौ,हामी न्यायलयको विश्वास गर्छौ ।’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने । उनले कार्यक्रमबाटै देश निर्वाचन तर्फ जाने भएकाले सबैलाई पार्टिमा फर्कन आग्रह गरे ।
‘देश निर्वाचन तर्फ जादैछ, त्यसैले नजानेर,अरुका कुराको भ्रममा परेर पार्टि छोड्नु भएका नेता कार्यकर्ता साथीहरु पार्टिमा फर्किनहोस् ।’ प्रधानमन्त्री ओली भने ‘मिलिजुली काम गरौ,देश बनाउनेलाई साथ दिनुहोस्, देश बर्बाद गर्नेलाई होइन ।’ त्यस्तै प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना भएपनि आफुहरुको राजनिति नसकिने बताए ।
‘हामी देश र जनताको पक्षमा काम गरिरहेका छौ ।’ प्रधानमन्त्री ओली भने ‘त्यसैले संसद पुनस्र्थापना भएपनि हाम्रो राजनिति सकिदैन,साथीहरु ढुक्क बस्नुहोस् ।’ उनले अगाडी थपे ‘संसद पुनस्र्थापना भएपछि प्रधानमन्त्री खोज्ने,पार्टी खोज्ने,कुर्सीको भागबन्डा गर्ने यस्तो प्रकृतिको खराब राजनिति देशमा पुनः शुरु हुने छ ।’
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ तथा बहस भइरहेको छ ।