महेन्द्रनगर । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १६ वर्षिया भागरथी भट्टको बलात्कार र हत्या गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ ।
दिनेशलाई सरकारी वकिल कार्यालयले मंगलबार अदालत बुझाएको थियो । थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधार गृह पठाउन आदेश दिएको हो ।
अभियुक्त दिनेशलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधार गृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । उनकाअनुसार दिनेशलाई बुधबार डोटीमा रहेको सुधार गृह पठाउने तयारी भइरहेको छ ।
गत माघ २१ मा विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दा माघ २२ गते स्थानीय लवलेक जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् त्यसपछि प्रहरीले घटनाको अनुसन्धानपछि दिनेशलाई फागुन ४ मा गते नियन्त्रणमा लिएको थियो ।
प्रहरीले जिल्ला अदालतबाट चार पटक ५/५ दिनका लागि म्याद थप गरेर थप अनुसन्धान गरेको थियो । दिनेशले यसअघिनै आफूले बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकार गरिसेकेका छन् ।
भागरथी पढ्ने सनातन धर्म माविमा नै अभियुक्त दिनेश पनि कक्षा ११ पढ्थे ।