यो कोरोनाकालमा पक्कै पनि हरेक व्यक्तिलाई इम्युनिटी (रोग प्रतिरोधी क्षमता) बारेको चिन्ताले सताइरहेको हुनुपर्छ। किनकि कोरोनालाई जित्न शरीरको इम्युनिटी बलियो हुन जरुरी छ।
यसकारण यतिबेला हरेक मानिसले इम्युनिटी बढाउन कुनै न कुनै उपाय अपनाइरहेका होलान्। हुन पनि इम्युनिटी बलियो भयो भने कोरोना मात्र होइन, हामी कुनै पनि रोगसँग लड्न सक्छौं। यसका लागि प्राकृतिक रूपमै इम्युनिटी बढाउन आवश्यक हुन्छ।
यसै सन्दर्भमा भारतका डाक्टर राजन गान्धीले प्राकृतिक रूपमा इम्युनिटी बढाउने उपायबारे बताएका छन्। भारतीय पत्रिका अमर उजालामा प्रकाशित उनका सुझाव हाम्रा लागि पनि उत्तिकै उपयोगी हुने भएकाले यहाँ प्रस्तुत गरिएको हो।
१. हरिया र पौष्टिक तरकारी खानुस्
तरकारी हाम्रा सबैभन्दा असल साथी हुन्, जसले हामीलाई रोगबाट बचाउन मद्दत गर्छन्। फल, तरकारी, गेडागेडी, फलफूल सेवन गर्न जरुरी छ। किनकि यी चिजमा पोषक तत्त्व र एन्टिअक्सिडेन्ट पर्याप्त पाइन्छन्। जसले शरीरका फ्रि रेडिकल्ससँग लड्छन् र जसले गर्दा कोषिका सुरक्षित रहन्छन्। हरिया तरकारीले पनि हाम्रो शरीरलाई धेरै किसिमका फाइदा दिन्छन्, यसकारण यी चिजलाई आफ्नो दैनिक खानामा सामेल गर्नुपर्छ।
२. हल्का व्यायामले दिन्छ फाइदा
के कुरामा विचार पुर्याउनुपर्छ भने इम्युनिटी बलियो पार्न व्यायाम त गर्नैपर्छ, तर हल्का। किनकि कठिन किसिमको व्यायामले इम्युन प्रणालीमा दबाब पुग्छ, यसकारण हल्का व्यायाम मात्र गर्नुपर्छ। छिटोछिटो हिँड्ने, साइकल चलाउने, जगिङ गर्ने आदि गर्न सकिन्छ।
३. मोटोपना नियन्त्रण गर्ने
मोटोपन राम्रो मानिँदैन। किनकि यो धेरैवटा रोगको कारक हो। जब वजन बढ्न थाल्छ तब मुटुसम्बन्धी, मधुमेहजस्ता रोगको जोखिम बढ्छ। यी दुवै रोगले हाम्रो इम्युनिटी कमजोर पार्छन्। यसैकारण मोटोपना नियन्त्रण गरियो भने इम्युनिटी बढाउन मद्दत पुग्छ।
४. राम्रोसँग निदाउनुस्
इम्युनिटी बढाउन चाहनुहुन्छ भने पर्याप्त मात्रामा राम्रोसँग निदाउन आवश्यक हुन्छ। जो राम्रोसँग निदाउन सक्दैनन्, उनीहरू बिरामी पर्ने खतरा हुन्छ। यसकारण कम्तीमा ८ घण्टा निदाउन जरुरी छ। जब तपाईं राम्रोसँग निदाउनुहुन्छ तब तपाईंको शरीरमा प्राकृतिक तरिकारले इम्युनिटी बढ्छ।
५. प्रशस्त पानी पिउनुस्
शरीरलाई स्वस्थ राख्न चाहनुहुन्छ भने यसलाई हाइड्रेटेड राख्न जरुरी हुन्छ, जसका लागि हामीलाई पानीले सहयोग गर्न सक्छ। तपाईं पानी कम पिउनुहुन्छ भने यसको असर पाचन प्रणाली, मुटु र मिर्गाैलाको काममा पर्छ। जसका कारण बिरामी हुने जोखिम बढ्छ। तसर्थ प्रशस्त मात्रामा पानी पिउन आवश्यक हुन्छ। तर पिउने पानी स्वच्छ हुन जरुरी हुन्छ। सकेसम्म उमालेर पिएको राम्रो हुन्छ। साथै तपाईं घरमै बनाइएको फलफूलको जुस पनि पिउन सक्नुहुन्छ।
(नोट: डाक्टर राजन गान्धी योग्य र अनुभवी जनरल फिजिसियन हुन्। उनले कानपुरस्थित जीएसभीएम मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरेका हुन्। यसपछि उनले सीएचमा डिप्लोमा पूरा गरे। हाल उनी कानपुरस्थित उजाला सिग्नस कुलवन्ती अस्पतालमा मेडिकल डाइरेक्टर तथा सिनियर कन्सलटेन्ट छन्। उनी आईएमए (इन्डियन मेडिकल एसोसिएसन) का आजीवन सदस्य पनि हुन्। यस क्षेत्रमा उनको २५ वर्षको अनुभव छ।)

