महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी नाकामा शुक्रबार विहान बझाङका दिपेन्द्र बोहरा घर जान गाडी पर्खिरहेका थिए । नाकामा झोलाझिम्टि सहित गाडी कुरिरहेका बोहरा भारतमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर बढेपछि घर फर्किएका हुन् ।
उनि गत वर्ष बैशाख १८ गते यसैगरी कोरोनाको डरले स्वदेश फर्किका थिए । तर गाउँमा धेरै दिन गुजारा नचलेपछि उनि फेरी २०७७ साल भदौँ २० गते कोरोना महामारीका विच कामको खोजीमा भारत गएका थिए ।
‘पोहोर साल पनि इण्डियामा कोरोना बढेपछि यसरीनै झोला बोकेर घर आएको थिए ।’ बोहराले भने ‘तर घरमा धेरै दिन बेरोजागर बसेर आफ्नो र परिवारको पेट पाल्न गाह्रो भएपछि २०७७ भदौँ २० गते भोकले भन्दा बरु रोगैले मरौला भनेर फेरी भारत गएको थिए ।’ उनले अगाडी थपे ‘ अहिले काम राम्रै चलिरहेको थियो, तर के गर्ने यो कोरोना फेरी आयो त्यही भएर नाका बन्द नहुदै कोरोनाका डरले घर फकिएका हौ ।’
उनि संगै नाकामा भेटिएका हरीचन्द्र जोशी पनि घरमा पेट पाल्न गाहे भएपछि गत वर्ष भारत छिरेका थिए । ‘गत वर्षको लकडाउनमा घरमा त्यसै बसे साझ विहान दुई छाक खान पनि गाहे भएपछि रोजगारीका लागि भारत गएको थिए ।’ जोशीले भने ‘तर अहिले भारतमा कोरोना धेरै बढीरिहेको छ । त्यहाकै जनताले उपचार पाइरहेका छैनन् त्योे देखेर मरेपनि नेपालमै मरौला भनेर घर फर्किएको हु ।’
त्यस्तै बैतडीका दान सिंह कार्की भने रोजगारीका लागि केही दिन अगाडी मात्रै भारत गएका थिए । ‘म नयाँ वर्ष खाएर बैशाख ७ गते रोजगारीका लागि भारत गएको थिए ।’ कार्कीले भने ‘ तर के गर्ने भारतमा कोरोनाले मान्छे मरेको देख्दा डर लागेर गएको १० दिनमै ज्यान बचाएर घर फर्किए ।’
कार्की,जोशी र बोहरा जस्तै हजारौँ नेपाली नागरीक अहिले भारतबाट स्वदेश फर्किरहेका छन् ।