महेन्द्रनगर । विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो लहर संक्रमण कञ्चनपुरमा पनि दिनप्रतिदिन बढ्दो छ । जिल्ला स्थित महाकाली अस्पताल संक्रमितले भरिभराउ छ ।
अस्पतालमा अक्सिजन,स्वास्थ्यकर्मी,कर्मचारी लगाएत स्वास्थ्य सामाग्रीको अभाव छ । यद्यपी अस्पतालले संक्रमितको उपचार गरिरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी ‘बोक्सर’ ले बताए । उनका अनुसार अस्पतालमा भएका डाक्टर सहित ३३ जना स्वास्थ्यकर्मी आफै कोरोना संक्रमणको चपेटामा परेका छन् ।
र अस्पतालमा प्रर्याप्त अक्सिजन सिलिण्डर नभएको अध्यक्ष जोशीले बताए । ‘अस्पतालका डाक्टरसहित ३३ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।’ उनले भने ‘ तर पनि यहाँको स्वास्थ्यको टोलीले दिनरात नभनी बिरामीको सेवामा खटिएको छ ।’
त्यस्तै अस्पतालमा अहिले अक्सिजनको समेत अभाव भएको अध्यक्ष जोशीले बताए । उनका अनुसार तत्काल अस्पताल संग ९७ अक्सिजन सिलिण्डर छन् । तर अस्पतालमा दैनिक ७०/८० सिलिण्डर खपत हुन्छ ।
‘हामी संग जम्मा ९७ वटा खाली सिलिण्डर छन् । र एउटा दैनिक ६ वटा सिलिण्डर मात्र भर्ने क्षमताको सानो अक्सिजन प्लान्ट छ ।’ उनले भने ‘तर अस्पतालमा विरामीको चाप बढी भएकोले दैनिक ७०/८० सिलिण्डर आवश्यक पर्छ ।’ उनले अगाडी थपे ‘अक्जिन प्लान्ट सानो भएकोले बाकीँ सिलिण्डर भर्न धनगढी वा नेपालगञ्ज पुग्नु पर्ने अवस्थाले अस्पतालमा अक्सिजन अभाव भइरहेको छ ।’
उनकाअनुसार अस्पताल संग भएको सिमित स्रोत साधान तथा स्वास्थ्यकर्मी र अक्सिजन अभाका बिच महाकाली अस्पताल कोरोना संग लडिरहेको छ । हाल अस्पतालमा ८० जना संक्रमित उपचारत रहेको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति गोविन्द रोकायाले बताए ।
‘सहयोगले केही सहज भएको छ’
अस्पतालमा अक्सिजन तथा अन्य स्वास्थ्य सामाग्री अभावलाई मध्यनजर गर्दै स्थानिय तह,उद्योग वाणिज्य संघ,विभिन्न सहकारी,युवा व्यवसायी,समाजसेवी लगाएतको सहयोगले संक्रमितको उपचारमा केही सहज भएको अध्यक्ष जोशीले बताए । उनका अनुसार भीमदत्त नगरपालिकाबाट २० लाख,बेदकोट नगरपालिकाबाट १० लाख अर्थिक सहयोग, उद्योग वाणिज्य संघ र युवा व्यवसायीबाट एक हप्ता सम्म दैनिक ५०/५० सिलिण्डर अक्सिजन सहयोग गर्ने प्रतिवद्धता अननुसार सहयोग गरिरहेको अवस्था छ । ‘अहिले धेरै ठाउँबाट सहयोग प्राप्त भइरहेको छ ।’ उनले भने ‘तर हामीले तत्काल ठुलो अक्सिजन प्लान्ट निर्माण नगरे अक्सिजन अभावमा विरामीले ज्यान गुमाउनु पर्ने अवस्था आउन सक्छ । त्यसैले तत्काल अक्सिजन प्लान्ट निर्माण गर्न आवश्यक छ ।’
थप १२९ जनामा कोरोना पुष्टि
कञ्चनपुरमा शुक्रबार थप १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्ला स्थित भीमदत्त नगरपालिकाका १ सय ८, शुक्लाफाँटा नगरपालिकाका ३, बेदकोट नगरपालिकाका ६,पुनर्वास नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कृष्णपुर नगरपालिकाका एक जना र बेलौरी नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला शुक्रबार भीमदत्त नगरपालिकाका २ जना र दोधारा चादनी नगरपालिकाका एक जना गरि ३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।