कोरोना भाइरसः गेटा कलेजमा आइसोलेसन बनाउन ५० लाख

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रले गेटा मेडिकल कलेजका नवनिर्मित भवनमा आइसोलेसन सेन्टर निर्माणका लागि रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । लागि उक्त रकम जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीलाई दिने निर्णय भएको हो ।

यसै गरी जिल्ला अस्पताल बैतडीमा नमूना परीक्षण गर्ने पिसिआर मेसिन सञ्चालन गर्न, आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न बैतडीकै रुदेश्वर स्वास्थ्य चौकी, दार्चुलाको देवल स्वास्थ्य चौकी, डोटीको दौड स्वास्थ्य चौकी र अछामको कमलबजार नगरपालिकालाई समेत गरी थप रु एक करोड ५० लाख उपलब्ध गराउने निर्णय भएको सुदूरपश्चिम प्रदेश, कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवं मुख्य मन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बताए ।

प्रदेशमा गएको दुई दिनमा केही घटेको देखिएको कोरोना भाइरसको सङ्क्रमण दरको ‘ग्राफ’ पछिल्लो २४ घन्टामा फेरि उकालो लागेको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार गएको २४ घन्टामा पिसिआर र एन्टिजेन पद्धतिबाट जम्मा दुई हजार २ सय ५ जनाको नमुना परीक्षण गर्दा झन्डै ४३ प्रतिशत अर्थात् ९ सय ५३ जनामा सङ्क्रमण भएको छ ।

यस अघि सोमबार एक हजार ५ सय ३५ को नमुना परीक्षण गर्दा झन्डै ३७ प्रतिशत अर्थात् ५ सय ६३ जनामा र मंगलबार एक हजार ७०३ को नमुना परीक्षण गर्दा ४१ प्रतिशत अर्थात् ६ सय ९९ जनामा सङ्क्रमण देखिएको थियो ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा प्रदेशका कैलालीका ७, कञ्चनपुरका ६ र बाजुरा तथा दार्चुलाका एक(एक गरी १५ जना सङ्क्रमितको मृत्यु भएको छ ।

यसैबीच प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा भइरहेको अक्सिजनको अभावपछि अस्पतालमा ३३ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ । जडानसँगै अस्पतालमा कोरोनाबाट सङ्क्रमित बिरामीको उपचार व्यवस्थापन केही सहज भएको अस्पतालद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्