यी हुन् देउवाको पक्षमा अदालत जान हस्ताक्षर गर्ने एमाले सांसद

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्दै नेकपा एमालेका माधव नेपाल पक्षका थप सांसदहरुले हस्ताक्षर बुझाएका छन्।

सर्वोच्च अदालतमा रिट निवेदन दिनका लागि सोमबार उनीहरुले हस्ताक्षरसहित कागजात बुझाएका हुन्।

देउवालाई प्रधानमन्त्री बनाउन १ सय ४९ सांसदको हस्ताक्षरसहित बहुमत दाबी गर्दा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त नगरेपछि बहुमत सांसद हस्ताक्षरसहित नै अदालत जान लागेका हुन्।

जेठ ७ गते देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २६ एमाले सांसदले हस्ताक्षर गरे पनि सर्वाेच्च अदालतमा उपस्थित हुनका लागि भने सो संख्या केही घटेको देखिन्छ।

यद्यपी कागजात संकलनको कार्य जारी रहेको नेताहरुले जनाएका छन्।

अदालत जानुअघि घनश्याम भूसाल, सुरेन्द्र पाण्डेलगायत नेताहरु सिंहदरबारस्थित लेखा समितिको हलमा भेला भई तयारीको काम गरिरहेका छन्।

देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुको सूची यस्तो छः
माधव नेपाल, झलनाथ खनाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, पुष्पा कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडालगायत छन्।

सो समूहका सक्रिय नेताहरु गोकर्ण विष्ट, पवित्रा निरौला र गणेश पहाडीले भने हस्ताक्षर गरिसकेका छैनन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्