काठमाडौं उपत्यकामा आजदेखि उद्योगी/व्यवसायीलाई सवारी पास

यसअघि गृहमन्त्रालयले वितरण गरेको सबै प्रकारका पास रद्द भएपछि उद्योगी/व्यवसायीका लागि आवश्यक पर्ने सवारी पास वाणिज्य विभाग र उद्योग विभागले जारी गर्ने भएको छ।

काठमाडौं। गृह मन्त्रालयले दिएको सवारी पास रद्द भएको केही दिनपछि नै उद्योग मन्त्रालयले निजी क्षेत्रलाई सवारी पास वितरण प्रक्रिया शुरू गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य विभाग र उद्योग विभागले आजदेखि सवारी पास वितरण थालेका हुन्।

२४ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थतन्त्र चलायमान राख्नका लागी ४४ प्रकारका उद्योग व्यवसायलाई चल्न दिने निर्णय गरेसँगै उद्योगी/व्यवसायीहरूले गृह मन्त्रालयसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयबाट उद्योग व्यवसाय सञ्चालन गर्ने भन्दै सवारी पास लिएका थिए।

तर पछिल्लो दिनमा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै लकडाउनलाई झन कडा बनाउँदै १ जेठमा वितरण गरिएका सबै पास रद्द गरिएको थियो।

११ चैतदेखि बन्द भएका उद्योग व्यवसाय डेढ महीनापछि सञ्चालन गर्न पाउँदा उत्साहित बनेका उद्योगी/व्यवसायी पास रद्द भएसँगै निरास बनेका थिए।

वाणिज्य विभागले व्यापारीक कम्पनी तथा फर्महरूलाई र उद्योग विभागले उद्योग प्रतिष्ठानहरूलाई पुन: सवारी पास वितरण गर्ने भएको हो।

उद्योग विभागका महानिर्देशक जिवनप्रकाश सिटौलाले सवारी पास लिन आउने सम्बन्धित उद्योगहरुले आबद्ध भएको निजी क्षेत्रको छाता संगठनहरुको सिफारिस ल्याउनु पर्ने बताए।

त्यस्ता उद्योग र व्यवसायहरूले उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघ र उद्योग परिसंघले सिफारिस आवश्यक पर्नेछ।

सिटौलाले भने, “खुल्न चाहने उद्योगका प्रतिनिधि आफैँ विभागमा आउन नपर्ने व्यवस्था गरिएको छ। त्यस्ता उद्योगहरुको सिफारिस संकलन गरेर छाता संगठनका प्रतिनिधि मात्र आउने व्यवस्था गरेका छौं।”

उद्योग सरसफाईका सामग्री, ग्यास, घरेलु तथा साना उद्योगहरूलाई सवारी पास वितरण गर्ने बताइएको छ। यस्तै, विशेष आर्थिक क्षेत्रमा सञ्चालित र निर्माण तथा निर्यातजन्य उद्योगहरुलाई पनि पास वितरण गरिनेछ।

त्यसैगरी, इन्टरनेट जडान र मर्मत, प्लम्बिङ तथा इलेक्ट्रिोनिक सेवा र पेट्रोल पम्प कम्पनीहरुलाई समेत पास उपलब्ध गराइने विभागले जानकारी दिएको छ।

उद्योग व्यवसायहरूको कर्पोरेट कार्यालयको हकमा भने कुल कर्मचारीको संख्याको एक तिहाई र सवारी साधन एक चौथाई भन्दा माथि नहुने गरी सञ्चालनको अनुमति दिइने छ।

यस्तै, वाणिज्य विभागले खादा पदार्थ ढुवानी गर्ने कम्पनी, औषधि पसल, अनलाइनको माध्यमबाट व्यवसाय सञ्चालन गर्दै आइरहेको कम्पनीहरूलाई पनि पास दिइने छ।

तर, त्यसरी विभागले जारी गरेको पास स्थानीय प्रशासनले तोकेको समयमा मात्र प्रयोग गर्नुपर्ने छ।

त्यस्तै, संक्रमणबाट जोगिन भने मास्क, पञ्जा, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाउनुपर्ने अनिवार्य गरिएको छ।

त्यसैगरी, उद्योग, कम्पनी वा फार्ममा आबद्ध कर्मचारीलाई कोभिड १९ को लक्षण देखिएमा वा आशंका भएमा तत्कालै स्वास्थ संस्थामा लगेर परीक्षण गराउनुपर्ने छ।

तर, विभागले जारी गर्ने सवारी पास काठमडौं उपत्यकामा मात्र लागु हुने बताइएको छ।

यद्यपी, शव वाहन, एम्बुलेन्स, औषधीजन्य वस्तु ओसारप्रसार गर्ने सवारी, खाद्यान्‍नको कच्चा पदार्थ, माछा, कुखुरा तथा पशुपन्छीको आहार बोकेका सवारी साधानलाई पास आवश्यक पर्दैन।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्