प्रवाशीको मन- कविता

हरिप्रशाद खतिवडा

नेपाल संस्कृत विश्वविद्यालयका लेक्चरर हरिप्रशाद खतिवडाले शिखरिणी छन्दमा रचना गर्नु भएको कविता यस्तो छ । यस कविता विदेशमा रहेको नेपालीहरुको मनोभावनप्रति समर्पीत छ ।

म आएँ हे आमा ! किन किन अहो ! यो स्थलमहाँ ।
जहाँ जन्मे हुर्केँ सकि नसकि हिँड्थेँ रहरमा ।।
म खेल्थेँ त्यो माटो धुरमुस भई त्यो समयमा ।
चटक्कै छाडेरै किन किन गएँ त्यो शहरमा ।। १

विदेशी मोहैमा बहकिन पुगेँछू म त अहो ! ।
भुले रै त्यो धर्ती किन किन म आएँ नि त अहो ! ।।
बसी सोच्ने गर्छू विविध थरिका ठाउँहरु ती ।
कहाँ मिल्छन् होला शिशु समयका ग्रामहरु ती ।।२

थियो भाषा मेरो अति सरसिलो त्यो समयमा ।
थिए साथी सङ्गी विविध थरिका श्रेणिहरुमा ।।
बनाई काठैका बस र जिप तानी सररर ।
घुमाई बाटैमा अतिखुसि भई पूर्ण प्रहर ।। ३

थिए मेरा साथी तरह तरहैका पनि तहाँ ।
तिनै साथीलाई स्मरण नि गरी घुम्दछु यहाँ ।।
बने काका मामा अपरिचित जस्तै बुझ अहो !
भए साथी भाई परपर सबै नै किन अहो ! ! ४

पकाई आमाले अति सरसिलो गुन्द्रुक तहाँ ।
जसै कोठा हुन्थ्यो मगमग सरी त्यो पल महाँ ।।
रमाए रै खान्थेँ अति खुसि भई त्यो क्षण महाँ ।
कहाँ पाऊँ त्यस्तो अनुपम सरी भोजन यहाँ ।। ५

महामारी आयो जगत भरमा ताण्डव गरी ।
विदेशैमा छायो विकसित गरी तीव्र गति ली ।।
कसोरी बाँचौँला थरथर मुटू कम्पित भयो ।
घरैको मायाले हृदय अति नै भावुक भयो ।। ६

विदेशैको बासै किन किन अहो ! कष्ट हुन गो ।
घरैको मायाले घरिघरि मलाई छुन गयो ।।
म आएँछू व्यर्थै फगत किन हो ! सागर तरी ।
मलाई यो पीडा हृदय बिचमा आउँछ घरी ।। ७

मनै रोयो मेरो विकल हुन गो यो हृदय ता ।
कसोरी सम्झाऊँ हृदयविच आयो अनल ता ।।
भयो पश्चातापै किन बुझिनछू मातृ महिमा ।
म हातै जोड्दै छू सकल जनमा यो समयमा ।। ८

म आई बस्ने छू सबसँग मिली त्यो नगरमा ।
तिनै साथी सङ्गीहरुसित बसी त्यो लहरमा ।।
सिँगारी त्यो धर्ती मगमग बनाई सब भई ।
पूरा गर्दै जाने सपथ पनि खाई सब मिली ।। ९

छोरीलाई छन्दमा कवितावाचनमा अभ्यास गराउँदै –कविताको शीर्षक : प्रवाशीको मनरचना : हरिप्रसाद खतिवडा वाचन : साक्षी खतिवडा

Gepostet von Hariprasad Khatiwada am Dienstag, 19. Mai 2020
वाचन : साक्षी खतिवडा
 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्