मान्छेमा गरिएको कोरोनाभाइरस विरुद्धको खोप परीक्षण सफल

यो खोप नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको हो । मोडेर्नाले अमेरिकी समय अनुसार सोमबार साँझ खोप सम्बन्धि दिएको जानकारी अनुसार एमआरएनए(१२७३ नामक खोप परीक्षण गरिएका स्वयंसेवकहरुमा आशा गरिए भन्दा बढी रोग प्रतिरोधी क्षमता बढेको पाइएको छ । शरीरमा यसका नकारात्मक असर पनि कम मात्र देखिएको छ ।

कम्पनीका अनुसार खोप लगाइएकाहरुमा रोग प्रतिरोधी क्षमता कोरोनाभाइरससँग लडेर निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको छ । मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टीफन बैसेलले तत्काल योभन्दा उत्तम नतीजाको आशा गर्न नसकिने बताएका छन् ।

कम्पनीका प्रमुख मेडिकल अफिसर डा. ताल ज्याक्सले थप परीक्षणपछि मात्र खोप बजारमा आउन सक्ने बताएका छन् । पहिलो चरणको परीक्षण सफल भएको भन्दै उनले आगामी परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार मोडेर्ना कोरोनाभाइरस विरुद्धको खोप मान्छेमा परीक्षण गरिरहेका विश्वका आठमध्येको एक कम्पनी हो । अन्य दुई कम्पनी फाईजर र इनोभियोले पनि अमेरिकामै परीक्षण गरिरहेका छन् ।

मोडेर्नाले आठ जनामा दर्जनभन्दा बढी पटक यो खोप परीक्षण गरेको थियो । सबै जनामा भाइरसलाई निस्क्रिय गर्ने क्षमता यसअघि संक्रमित भएर निको भएका बिरामीमा झैँ बढेको थियो । उनीहरु सहित १८ देखि ५५ वर्षसम्मका कूल ४५ जना स्वस्थ मान्छेमा गरिएको सबै परीक्षण सकारात्मक आएको छ।

यो खोप परीक्षणमा सहभागी नभएका खोप विज्ञहरुले पनि यसलाई ठूलो उपलब्धि भएको बताएका छन् । खोप परीक्षण सफल भएको खबरसँगै अमेरिकी शेयरबजारमा मोडेर्नाको शेयर मूल्य ३० प्रतिशतले बढेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्