यो वर्ष नेपाल छिरेन सलह, अन्नबालि नोक्सानीको जोखिम टर्‍यो

काठमाडौँ २३ जेठ ।
नेपालमा सलहको जोखिम टरेको छ । संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य कार्यक्रम (एफएओ)ले यस वर्षका लागि नेपालमा सलहको प्रकोप टरेको जानकारी नेपाललाई गराएको हो ।

सलह किराको झुण्ड दक्षिण अफ्रिकाबाट मध्यपूर्व, पाकिस्तानहुँदै भारतसम्म पुगेपछि नेपाल भित्रिन सक्ने सम्भावना रहेको भन्दै सरकारले दुई हप्ताअघि प्लाण्ट क्वारेन्टिन तथा विषादी व्यस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईको संयोजकत्वमा प्राविधिक कार्यदल बनाएको थियो ।

उक्त कार्यदलका संयोजक हुमागाईले यस वर्ष सलह नेपालमा नआउने निश्कर्ष निकालिएको जानकारी दिए ।

हुमागाईले भारतको राजस्थानसम्म आएको सलहको झुण्ड विभिन्न समूहमा बाँडिएको बताए । त्यसबाहेक नेपालमा मनसुनी वर्षा समेत सुरु भएर सलहको लागि प्रतिकुल हावापानी बनेकाले तत्काल आउन सक्ने सम्भावना नरहेको जानकारी एफएओले गराएको हुमागाईले बताए ।

ठूलो झुण्डमा आएको सलहलाई केही दिनअघि दक्षिणि सागरमा विकास भएको अंपुन नामको चक्रावतले पनि तितरबितर पारेको थियो । हुमागाईका अनुसार सलह हावाको विपरित दिशामा उड्न नसक्ने भएकाले पनि नेपालमा आउन सक्ने सम्भावना टरेको हो ।

“नेपालमा मनसुन शुरु भइसक्यो, अहिले पूर्वी वायू पश्चिमतर्फ बहिरहेकाले सलहका लागि अनुकुल अवस्था छैन,” उनी भन्छन् “सफा मौसम र सफा आकास जता छ, सलह त्यतातिर जान्छ । हामीकहाँ बादल लाग्ने र पानी पर्न थाल्यो, बादल र पानी पर्ने ठाउँ सलहले रुचाउँदैन । त्यसैले पनि सम्भावना टरेको रुपमा बुझेका छौं ।”

पाकिस्तानबाट एउटै झुण्डमा आएको उक्त किरा अहिले भारतका महाराष्ट्र, भोपाल, मध्यप्रदेश लगायत विभिन्न ठाउँमा छरिएको छ ।

हुमागाईंका अनुसार सलह नेपाल प्रवेश गरिहाले पनि बच्चा पार्नको लागि यहाँको हावापानी उर्पुक्त थिएन, त्यसका लागि मरभूमि नै चाहिन्छ ।

यस्तो थियो तयारी

सलह रोकथाम तथा अध्ययनका लागि गठीत कार्यदलले छोंटो समयमै नेपालका एक सय जना कृषि प्राविधिकलाई एफएओबाट तालिम दिलाएको थियो । त्यस बाहेक सलह किरा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा टास्कफोर्स बनाउनुपर्ने सुझाव सहितको प्रतिवदेन पनि प्राविधिक समितिले सरकारलाई बुझाएको छ ।

कार्यदलका संयोजक हुमागाईंका अनुसार रोग किरा नियन्त्रणका लागि आकस्मिक कोषको व्यवस्थापन गर्न पनि सुझाव दिइएको छ । प्रत्येक वर्ष नयाँ नयाँ किराहरूको प्रकोप बढेकाले त्यसको नियन्त्रण गर्न आवश्यक कोषको व्यवस्थापन गर्न सुझाव दिइएको उनले जानकारी दिए । गतवर्ष अमेरिकी फौजी किराको प्रकोप देखिएको थियो भने तीन वर्षअघि गोलभेंडामा नयाँ जातको किराले सताएको थियो ।

नेपाल सलह रोकथाम तथा नियन्त्रणका लागि गठीत अन्तराष्ट्रिय सञ्जालको सदस्य बनेको छ । यो सञ्जालमा अफ्रिकि मुलुक सहित मध्यपूर्वका साथै भारत पाकिस्तान र मरभूमिसंग जोडिएका देशहरू सदस्य छन् । सञ्जालको समन्वय एफएओले गर्दछ । त्यसका लागि छुट्टै सफ्ट्वेयर बनाएर किराको अनुगमन गर्ने गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्