भेन्टिलेटर बिनै महाकालीमा कसरी हुदैँछ कोरोना संक्रमितको उपचार ?

महेन्द्रनगर २५ जेठ ।

कञ्चनपुरको महाकाली अस्पतालमा १८ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।
महाकाली अस्पतालमा अहिले कञ्चनपुरका ९ र कैलालीका ७ र काठमाडौकबा २ गरी यहाँ १८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितका लागि बनाइएका आइसोलेसन बेड भरिएपछि गौरीगागाका संक्रमितलाई महाकाली अस्पताल पठाइएको हो । यहांँ पनि अब २ बेड मात्रै खाली रहेको अस्पतालले जनाएको छ । कसै संक्रमितलाई पनि गम्भीर समस्या आए उपचारका लागि भेन्टीलेटर आवश्यक पर्ने भएपनि अस्पतालसँग उक्त सुविधा छैन् ।


‘अहिलेसम्म सबैको अवस्था सामान्य छ, कुनै समस्या छैन,’ महाकाली अस्पतालका डा. सरोज आचार्यले भने, ‘तर कसैमा पनि श्वासप्रश्वास लिन वा अन्य गम्भीर समस्या देखिए यहाँ उपचार हुन सक्ने अवस्था छैन ।’

उनका अनुसार अक्सिजन दिँदा पनि श्वासप्रश्वासमा समस्या रहिरहे भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर यहाँ भेन्टिलेटर नै छैन ।
महाकाली अस्पतालमा भेन्टिलेटरसहित विभिन्न उपकरण खरिदका लागि प्रदेश सरकारले १ करोड बजेट निकासा गरेको थियो ।


सोहीअनुसार अस्पताल प्रशासनले चैत दोस्रो साता टेन्डर पनि आह्वान गरेको थियो । आरजी सप्लायर्सलाई ५३ लाखमा ठेक्का दिइएको थियो ।

तर सप्लायर्सले सम्झौताविनै दुइटा भेन्टिलेटर, पेसेन्ट मोनिटर, ब्लड ग्यास एनालाइजर र डिफिलेटर अस्पताल पु¥यायो । तर ती सबै सामग्री पुरानो र खिया लागेको भेटिएपछि ठेक्का प्रक्रिया नै रद्द गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले समेत पुराना भेन्टिलेटरको छानबिन गर्न बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतलाई पठाएको थियो ।
उनले सम्पूर्ण सामग्री जाँच गरी मन्त्रालय र अस्पताल प्रशासनलाई बुझाएको प्रतिवेदनमा फिलिप्स कम्पनीको भेन्टिलेटर सन् २०१५ को अन्तिमतिर बनेको, अक्सिजन पाइप र ट्रलीमा खिया लागेकोलगायत त्रुटि औंल्याएका छन् ।


भेन्टिलेटरसहितका उपकरण खरिदका लागि पुनः टेन्डर प्रक्रिया सुरु गरिएको महाकाली अस्पताल विकास सकितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए । उनका अनुसार जेठ २८ मा टेन्डर खोल्ने तयारी भईरहेको छ ।

टेन्डर खुलेको दोस्रो हप्ता भित्रका भेन्टिलेटर उपलब्ध हुने उनको दावि छ ।
भेन्टिलेटर नहुदाँ बिरामीमा गम्भीर समस्या देखिए सेती प्रदेशिक अस्पतालमै पु¥याउनुको विकल्प छैन् ।


तीन वर्षअघि आईसीयू बेड सञ्चालनका लागि जडान गरिएका उपकरणमा पनि खिया लागेको छ । तत्कालीन अस्पताल विकास समितिले ४ बेडको आईसीयू सञ्चालनका लागि उपकरण जडान गरेको थियो तर विशेषज्ञ डाक्टर नहुँदा सञ्चालन हुन सकेन ।

नयाँ भेन्टीलेटर आएपछि आईसियु पनि पुर्ण रुपमा सञ्चालन हुने अस्पतालले जनाएको छ ।

कोरोना अस्पताल निर्माणमा पनि ढिलाइ
एक महिनाभित्र काम सम्पन्न गर्ने गरी वैशाख पहिलो साता ठेक्का सम्झौता भएको कोरोना अस्पताल निर्माणको काम अझै सकिएको छैन ।
निर्माण कम्पनीकै कारण हालसम्म काम पूरा नभएको अस्पताल प्रशासनले जनाएको छ ।


महाकाली अस्पताल परिसरमै ५० बेडको कोरोना अस्पतालको छुट्टै भवन निर्माणका लागि विपिन विल्डर्ससँग चैत अन्तिममा ९७ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पतालमा छुट्टै कोरोना अस्पताल निर्माणका लागि १ करोड बजेट पठाएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्