काठमाडौँ — सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि गल्ती थियो भनेर निर्णय गर्न माग गरेका छन् । प्रधानमन्त्री कार्यालय बालुवाटारमा जारी स्थायी कमिटी बैठकको तेस्रो दिन गौतमले २५ वर्ष अगाडि भारतसँग महाकाली सन्धि गर्नु गल्ती थियो भनेर पार्टीले निर्णय गर्नुपर्ने माग राखेका हुन् ।
स्थायी कमिटीको शनिबारको बैठकमा गौमतले महकाली सन्धिलाई लिएर तत्कालीन एमालेले आफूमाथि कारबाही गर्नु गल्ती थियो भनेर नेकपाले निर्णय गरेर न्याय दिनसमेत उनले माग गरेका छन् ।
महाकाली नदीको मुहान लिम्पियाधुरा हो भनेर प्रष्ट पार्नुपर्छ भन्दा आफूसहित १६ जनालाई पार्टीले कारबाही गरेको र त्यहीँ कारण पार्टी फुटेको गौतमको भनाइ थियो ।
‘महाकाली सन्धि गर्दा नदीको मुहान तय हुनुपर्छ भन्दा मसहित १६ जना कारबाहीमा प¥यौं । त्यही कारण पार्टी फुट्यो । त्यो ऐतिहासिक गल्ती थियो भनेर अहिले निर्णय गर्नुप¥यो र ममाथि न्याय गर्नुप¥ो,’ गौतमको भनाई उद्धत गर्दै एक नेताले बताए ।
२०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धि भएको थियो । दुई देशका प्रधानमन्त्रीले हस्ताक्षर गरेको महाकाली सन्धि २०५३ साल असोज ४ गते सत्तारुढ कांग्रेस तथा प्रतिपक्षी एमालेको पूर्ण समर्थनमा संसद्को दुईतिहाई मतका आधारमा पारित भएको थियो ।
शारदा बाँध, टनकपुर बाँध र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई एकीकृत रूपमा विकास गर्ने गरी भएको द्विदेशीय यो सम्झौताले नेपालको राजनीतिमा त्यतिबेला तरंग पैदा गरेको थियो । १२ धारामा समेटिएको यो सन्धि बराबरीको सिद्धान्तअनुसार गरिएको भनिएको थियो ।
सन्धिलाई लिएर तत्कालीन एमालेमा अन्तरविरोध बढ्दै गएपछि २०५४ फागुन २१ गते पार्टी विभाजन भएको थियो ।
महाकाली सन्धिको विपक्षमा रहेका गौतमले पार्टी फुटाएर नेकपा माले गठन गरेका थिए । तत्कालीन एमाले नेता केपी शर्मा ओली र माधवकुमार नेपाल उक्त सन्धिको पक्षमा थिए ।
नेपाल र भारतबीच भएको यो असमान सन्धिको विषय पटक–पटक कुरा उठे पनि अहिलेसम्म पूर्णतः कार्यान्वयन भने हुन सकेको छैन । महाकाली सन्धि १०(१० वर्षमा पुनर्विचार गर्ने भनिए पनि अहिलेसम्म एकपटक पनि भएको छैन ।
महाकाली सन्धिमा नेपाललाई घाटा भएको र त्यतिबेला उक्त सन्धि गरेर तत्कालीन दलहरूले राष्ट्रघात गरेको कुरा लिम्पियाधुरा, लिपुलेक र कालपानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निसान छापमा समेट्ने गरी जेठ ३१ गते प्रतिनिधिसभामा संविधान संशोधनसम्बन्धी विधेयकमाथि छलफल हुँदा उठेको थियो ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महाकाली सन्धिमा तत्कालिन कांग्रेस र एमाले नेतृत्वमाथि प्रश्न उठाएका थिए ।
यादवले महाकाली सन्धीले देशलाई पछाडि धकेल्ने काम गरेको बताएका थिए । उनले महाकाली सन्धि गरेर राष्ट्रको अहित गरेको भन्दै देश र जनतासँग तत्कालीन नेतृत्वले माफी माग्नु पर्ने माग गरेका थिए ।
राजपाका नेता राजेन्द्र महतोले महाकाली सन्धि गर्ने राष्ट्रिघाती भएको भन्दै उनीहरूलाई पर्दाफास गर्न माग गरेका थिए ।