धान दिवसः ११ महिनामा ३० अर्बको चामल आयात

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा मात्रै नेपालले ३० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ । आर्थिक वर्ष २०७५र७६ को १२ महिनामा करिब ३२ अर्बको धान र चामल आयात भएको थियो ।

यो वर्ष भएको कुल आयातमा ९ अर्ब रुपैयाँ बराबरको धान आयात भएको छ भने २० अर्ब रुपैयाँ बढीको चामल रहेको छ । बीउबीजनको पयोजनको लागि पनि केही धान आयात भएको देखिएको छ । यो वर्ष समग्र आयात घटेको देखिए पनि धान र चामलको आयात भने घटेको देखिएको छैन । यसले कोरोनाभाइरसको प्रकोपबीच कृषिमा हाम्रो परनिर्भरता बढ्दै गएको देखिएको छ ।

गत आर्थिक वर्षमा मौसममा भएको प्रतिकुलताको कारण धानको उत्पादन कम भएको कृषि विकास मन्त्रालयको तथ्याङ्क छ । सोही कारण धानको आयात यो वर्ष बढ्न सक्ने प्रक्षेपण गरिएको थियो । अघिल्लो वर्ष १२ महिनामा ३२ अर्ब रुपैयाँको आयात भएको धान यो वर्ष ११ महिनामै ३० अर्ब भन्दा माथि पुगेको छ ।

सामान्य हिसाबले पनि १२ महिनाको आयातले अघिल्लो वर्षको आयातलाई उछिन्ने देखिन्छ । अझै असार महिना सबैभन्दा धेरै धान र चामल आयात गर्ने समय रहेको तथा यो समयमा मूल्य समेत बढेर आउने भएकोल परनिर्भरताको ग्राफ थप बढ्नसक्ने विज्ञहरुको अनुमान छ ।

प्रत्येक वर्ष कृषिजन्य आयात बढ्दै जानुको कारणबारे भने सबै एकमत छैनन् । कृषिमन्त्री घनश्याम भुसाल बढ्दै गएको कृषिको परनिर्भरतामा बजार संयन्त्र नै दोषी रहेको बताउँछन् । पञ्चायतको अन्तिम कालखण्डमा कृषिको संरचना बिग्रिन सुरु भएको र उदारवाद र बजारमा आधारित हाम्रो अर्थव्यवस्थाले गर्दा पछिल्लो ३० वर्षमा कृषिको संरचना ध्वस्त भएको उनको भनाइ छ ।

आफू मन्त्रालयमा आएपछि कृषिको त्यो संरचनालाई पुनस्र्थापित गर्ने प्रयास गरेको भन्दै ध्वस्त भएको संरचनालाई पुनर्जीवन दिन २र३ वर्ष लाग्ने उनको भनाइ छ । उनका अनुसार सरकारले कृषिलाई कहिलै पनि बजारमा छोड्नुहुन्न । किनकी कृषि सँधैं संरक्षित पेशा नै हुन्छ, हुनुपर्छ ।

कृषिलाई बजारमा छाडिदिएका कारण किसानले कृषि पेशाबाट बचत गर्न नसकेको र सोही कारण उनीहरु कृषिबाट पलायन भएको भन्दै सरकारले कृषकलाई कृषिमा टिकिरहने वातावरण बनाउनुपर्ने र उत्पादन तथा एक तहको प्रशोधनमा निरन्तर सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

आर्थिक वर्ष २०३५र३६ मा नेपालले करिब २५ करोडको धानको खुद निर्यात गरेको थियो । अहिले पनि नेपालले धानको निर्यात गर्ने गरेको छ । तर निर्यातको तुलनामा आयात निकै धेरै हुँदा नेपाल धान र चामलको खुद आयातकर्ता मुलुक बनेको छ । यो प्रत्येक वर्ष बढ्दै गएको छ । कृषिमन्त्रीले भनेजस्तै नेपालको आत्मनिर्भरता घटेको त्यही समयदेखि हो ।

मनसुन र जनशक्ति हुँदा रोपाइँ बढी

असार १५ सम्म आइपुग्दा यो वर्ष रोपाइँमा निकै उत्साह देखिएको छ । अघिल्लो वर्ष ११ प्रतिशतमा सीमति रहेको रोपाइँ यो वर्ष २० प्रतिशत नाघिसकेको कृषि विभागले जनाएको छ ।

यो असार १० गतेसम्मको तथ्यांक हो । मनसुन समयमै सक्रिय भएपछि यो वर्ष छिटै धान रोपाइँको क्रम बढेको कृषि विभागले भनाई छ । विभागका प्रवक्तासमेत रहेका वरिष्ठ कृषिविद् महादेव पौडेल भन्छन्, अघिल्लो वर्ष असारको दोस्रो सातासम्म ११.६४ प्रतिशत मात्रै रोपाइँ भएको थियो । यो वर्ष यो अवधिसम्म २०.०५ प्रतिशत रोपाइँ भइसकेको छ । यो १० गतेसम्मको तथ्याङ्क हो । ४ दिनमा अझै धेरै रोपाइँ भइसकेको हुनसक्छ ।’

कृषि विभागले प्रदेशको कृषि मन्त्रालयबाट यस्तो तथ्याङ्क लिने गरेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रबाट प्रत्येक साता कृषिसम्बन्धी सूचना प्रदेशको कृषि विभागले प्राप्त गर्ने र प्रदेशले केन्द्रलाई पठाउने गरिन्छ । यो हिसाबले शुक्रबारसम्म सातै प्रदेशमा औसत २०.०५ प्रतिशत रोपाइँ भएको हो ।

यसमध्ये सबैभन्दा बढी रोपाइँ प्रदेश ५ मा भएको छ भने सबैभन्दा कम रोपाइँ प्रदेश १ मा भएको कृषि विभागले जनाएको छ । प्रदेश ५ मा ३६.२६ प्रतिशत रोपाइँ हुँदा प्रदेश १ मा भने १०.४१ प्रतिशत रोपाइँ भएको जनाइएको छ । यद्यपि गण्डकी र कर्णाली प्रदेशमा भने अघिल्लो वर्षभन्दा यो वर्ष रोपाइँ घटेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्