दोबाटोमा प्रधानमन्त्री ओलीः राजीनामा दिने कि अडिने ?

१८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानै सातरआठ बजेतिर आफूनिकटका स्थायी कमिटी सदस्य एवं बहालवाला मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर भने, ‘यहाँहरुले मलाई सहयोग गर्नुप¥यो, ममाथि चौतर्फी एट्याक (आक्रमण) भयो ।’

बुधबार बेलुका जब झम्सीखेलमा स्थायी कमिटीका ३० जना नेताहरुको भेलाले एकस्वरमा प्रधानमन्त्रीबाट हट्नुपर्ने निश्कर्ष निकाल्यो, प्रधानमन्त्रीले पक्कै पनि आफूमाथि थप ‘एट्याक’ भएको महसुस गरे ।

आखिर स्थायी कमिटीको बैठक जारी रहेकै बेला सीमित नेताहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले सहयोगको याचना गर्नुको कारण के थियो ? आफ्नो गुटका नेताहरुबाट प्रधानमन्त्रीले कस्तो सहयोग चाहेका थिए ?

सहजै बुझ्न सकिन्छ कि स्थायी कमिटीको बैठकमा अधिकांश नेताहरुबाट प्रधानमन्त्री ओलीको राजीनामा माग भइसकेको छ । यही कारणले गर्दा प्रधानमन्त्रीले स्थायी कमिटीभित्र आफ्नो ‘पोजिसन’ स्पष्ट पार्न खोजेको देखिन्छ । तर, बुधबार बेलुका झम्सिखेलमा ३० जना नेताहरुको जमघट भयो, जसले प्रधानमन्त्रीलाई थप दबावमा पा¥यो ।

विहीबार बिहानै प्रचण्डनिवास खुमलटारमा केपी ओली पक्षका नेताहरु पुगे । उनीहरुले ओली र प्रचण्डलाई आपसमा मिल्न र पार्टी एकतालाई जोगाउन प्रचण्डलाई आग्रह गरेका थिए ।

लगत्तै बालुवाटारमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाए । शीतलनिवासमा राष्ट्रपतिसँग भेटेर बालुवाटार फर्केका ओलीले संसदको अधिवेशन अन्त्य गर्ने प्रस्ताव पारित गराए ।

लगत्तै नेकपाको स्थायी कमिटीको बैठक केहीबेर बसेर स्थगित भयो । र, अब प्रधानमन्त्रीले अध्यादेश ल्याएर संकटकाल पो लगाउँछन् कि भन्नेसम्मका अडकलबाजी भइरहेका छन् । नेकपाभित्रको विवाद बालुवाटारमा छताछुल्ल बनेको छ ।

तर, के अब प्रचण्ड र माधव नेपाल पक्ष मिलेर केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउलान् त ? वा ओलीले दुईमध्ये एक पद छाड्लान् ? वा ओलीले अडान कायमै राख्लान् ? अनि यो अन्तरविरोध चर्कंदै गएर पार्टी नै पो फुट्ने हो कि ? नेकपाको सन्दर्भमा उब्जिएका ज्वलन्त प्रश्नहरु यिनै हुन् ।

भारतले आफूलाई हटाउन लाग्यो भन्ने प्रधानमन्त्री ओलीको उत्तेजक अभिव्यक्ति र त्यसलगत्तै उनलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हट्न प्रचण्ड–माधव समूहका नेताहरुको दबावका कारण अहिले देशमा कोरोनाभन्दा नेकपाको चर्चा बढी हुन थालेको छ ।

मंगलबार नेकपा स्थायी कमिटी बैठकको दृश्यले प्रधानमन्त्री ओलीमात्र होइन, नेकपा नै ठूलो संकटमा पुगिसकेको संकेत नेताहरुले पाएका थिए । घनश्याम भुसालकै शब्द सापटी लिने हो भने ‘नेकपारुपी जहाज महाभूमरीमा हेलिने सम्भावना नजिकिएको छ ।

प्रधानमन्त्री ओलीलाई हटाउने प्रयास नेकपाभित्र वैशाख १७ गते नै भएको हो । त्यसबेला बामदेवको साथ लिएर संकट टारेका प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकसम्म आइपुग्दा झन् ठूलो संकटमा परेका छन् ।

हरेक संकटलाई एउटा न एउटा फण्डा ल्याएर भए पनि टार्ने गरेका ओलीले यसपटक आफूलाई दुवै पदबाट हटाउने प्रयास कसरी पार लगाउलान् ? उनीमाथि तेर्सिएको अहम सवाल यही हो ।

पार्टीभित्रको अन्तरविरोध चर्किँदै जाँदा यसको समाधान कसरी होला भन्नेमा नेकपाका नेताहरु ठूलो अन्योलमा देखिन्छन् । प्रचण्डले आलोपालो प्रधानमन्त्री छाडेर गल्ती भएछ भनिसकेका छन् । यसको अर्थ अब उनी आलोपालोमै फर्किन चाहन्छन् ।

केही नेताहरुले सुझाएको मेलमिलापको प्रस्ताव सफल भएन भने अब प्रधानमन्त्री ओलीसँग पद जोगाउनका लागि सीमित विकल्प मात्र बाँकी रहनेछन् । र, ती कुनै पनि विकल्पहरु जोखिममुक्त छैनन् ।

अब के हुन्छ र प्रधानमन्त्री ओलीले के सोचिरहेका छन् ? यो प्रश्नको जवाफ प्रधानमन्त्रीकै निकटस्थहरुसँग पनि छैन ।

नेकपाका विभिन्न नेताहरुसँगको कुराकानीपछि भन्न सकिन्छ कि प्रधानमन्त्री ओलीसँग बचेखुचेका सम्भावित विकल्पहरु यी हुन्–

पहिलो विकल्प : पार्टीको विश्वास जित्ने

प्रधानमन्त्रीसमक्ष पहिलो विकल्प भनेको स्थायी कमिटी बैठकबाटै पार्टीलाई विश्वासमा लिने हो । सबैका कुरा सुनिसकेपछि आफ्ना गल्ती कमजोरी स्वीकार गर्दै सिंगो पार्टीलाई विश्वासमा लिएर सरकार सञ्चालन गर्ने प्रतिवद्धता जनाउने र पार्टीले पनि उनलाई अन्तिमपटक मौका दिने ।

यसका लागि प्रधानमन्त्रीले अध्यक्ष पद माधव नेपाललाई सुम्पने, सरकारको टीम परिवर्तन गर्ने र प्रधानमन्त्री चाहिँ केपी ओलीले नै चलाउने । त्यसका लागि प्रधानमन्त्री सरकारको काममा मात्र केन्द्रित हुने । प्रचण्ड र माधव नेपालले पार्टी सञ्चालन गर्ने र सरकारका महत्वपूर्ण नियुक्ति तथा मन्त्री मुख्यमन्त्रीको हेरफेरमा माधव नेपाल समेतको सल्लाहमा गर्ने विकल्प कतिपय नेताहरुले सुझाउँदै आएका छन् ।

अहिलेको समस्या नै मुख्य नेताहरुको असमझदारी भएकाले उनीहरुकै बीचमा समझदारी हुनुपर्ने मध्यमार्गी धारका नेताहरु बताउँछन् । अहिलेको अवस्थामा केपी ओलीलाई हटाउन खोज्दा दुर्घटना हुने भएकाले दुई अध्यक्षबीच नै समझदारी हुनुपर्नेमा मध्यमार्गी नेताहरुको जोड देखिन्छ ।

प्रधानमन्त्री ओलीमाथि आइलागेको संकट टार्ने यो पहिलो विकल्प हो । तर, अब यसको सम्भावना एकदमै कम हुँदै गएको छ । सम्भवतः यो विकल्पमा जान प्रधानमन्त्री ओलीले केही ढीलो गरे ।

नेकपामा अहिले जुन तहको विवाद देखिएको छ, यसलाई हेर्दा पहिलो विकल्पमा प्रचण्ड र माधव नेपाल पक्ष सहमत भइहाल्ने अवस्था घट्दै गएको छ । प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हट्न दबाव दिइरहेका नेताहरु अब ओलीलाई दुबै पदमा यथावत राखेर अन्तिम मौका दिउँ न त भन्ने ठाउँमा आउलान् जस्तो देखिँदैन ।

प्रधानमन्त्री ओलीले यसअघि पनि पटक–पटक धोका दिइसकेकाले यसपटक वार कि पार गर्ने पक्षमा प्रचण्ड–माधव पक्षका नेताहरु देखिन्छन् । बुधवार विहान बालुवाटारमा ओलीले निम्त्याएका नेताहरुले समेत पार्टी एकता कायम गर्ने शर्तमा मात्रै ओलीलाई साथ दिने बताए । र, उनीहरु प्रचण्ड–माधवसँग समझदारीमा जान सुझाएको कुराले प्रधानमन्त्री ओलीलाई पक्कै पनि गम्भीर बनाएकै हुनुपर्छ ।

बुधबार बिहानै प्रचण्ड र माधव नेपालनिकटका केही स्थायी कमिटी सदस्यहरुको साथ खोजेका ओलीले उनीहरुबाट अपेक्षित जवाफ पाएनन् । मध्यमार्गी लाइनका नेताहरुले पार्टी एकता जोगाउन ओलीलाई दबाब दिए । अहिलेको संकट दुई अध्यक्ष र शीर्ष नेताबीचको चरम अविश्वासले सिर्जना भएकाले आपसमै समझदारी गर्न उनीहरुले आग्रह गरे । तर, बुधबार बेलुका झम्सीखेलमा देखिएको ३० नेताहरुको जमघटले मेलमिलापको सम्भावनालाई लगभग समाप्त पारिदिएको छ ।

दोस्रो विकल्प : प्रधानमन्त्रीले दुईमध्ये एक पद छाड्ने

अब केपी ओलीलाई कुनै मौका नदिने निष्कर्षमा प्रचण्ड र माधव नेपाल पक्ष पुग्यो भने के होला ? दोस्रो विकल्प भनेको पार्टीमा आफ्नो विपक्ष बलियो भएको बुझेर प्रधानमन्त्रीले दुईमध्ये एक पद छाड्ने । अहिले प्रचण्ड–माधव नेपाल पक्षले ओलीलाई दुबै पद छाड्न दबाब दिइरहेको छ । नछाडे बैठकले निर्णय गरेर हटाउने चेतावनी समेत दिइरहेका छन् ।

भन्नलाई दुवै पद छाड्न भनिए पनि दुईमध्ये एक पद छाडेमा पार्टीको अहिलेको संकट समाधान हुने नेपाल पक्षधर नेताहरु बताउँछन् । अहिलेको समस्या नेताहरुको व्यवस्थापनको भएकाले दुईमध्ये एक पद छाडेमा माधव नेपालको पनि व्यवस्थापन हुने र ओलीको एउटा पद पनि जोगिने उनीहरुको भनाइ छ । ओलीलाई दुवै पदबाट हटाउँदा पार्टी फुट्छ भन्ने उनीहरुले बुझेका छन् ।

पार्टी एकता जोगाउन ओलीले एउटा पद त्याग्नुपरे पनि तयार हुनुपर्ने भनाइ बलियो छ । तर, ओली यो कुरा सुन्न चाहँदैनन् । ओलीनिकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार महाधिवेशन समेत सहमतिका आधारमा गर्ने बैधानिक व्यवस्था विपरित ओली वा प्रचण्ड दुवै अध्यक्षलाई बीचमा हटाउँदा एकता भंग हुन्छ ।

प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा ओली निर्वाचित भएर आएकाले दुवै वा कुनै एक पद छाड्नुपर्ने कुराले पार्टी र मुलुकलाईनै दुर्घटनामा लैजाने तर्क नेम्वाङको छ । यसको अर्थ हो, ओली दुई मध्ये एक पद छाड्ने विकल्पमा अहिले नै जाने सम्भावना देखिँदैन ।

तेस्रो विकल्प: फेरि आलोपालोमा फर्किने

पार्टी एकीकरणको अघिल्लो दिन अर्थात २०७५ जेठ २ गते तत्कालिन एमालेका अध्यक्ष ओली र माओवादीका अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री पद आलोपालो गर्ने लिखित समझदारी भएको थियो । यद्यपि यो समझदारी दुवै पार्टीलाई थाहा थिएन अर्थात गोप्य थियो ।

गत मंसिर ४ गते सचिवालय बैठकले केपी ओली पूरै कार्यकाल प्रधानमन्त्री हुने प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका पाउने निर्णय ग¥यो । त्यसपछि ओलीको मिर्र्गौला पुनः प्रत्यारोपण सफल भएपछि नेकपामा प्रधानमन्त्री हटाउने चलखेल शुरु भएको थियो ।

ओली र प्रचण्डबीच चोचोमोचो मिलेपछि आफूलाई पेलिएको भनेर माधव नेपाल शुरुदेखिनै अशन्तुष्ट थिए । ओलीबाट कुनै पनि समझदारी पालना नभएपछि प्रचण्डले माधव नेपाल सहितका नेताहरुको समर्थन लिएर हटाउन खोजेका हुन् । उनले बैठकमा आफूले आलोपालो छाडेकोमा पश्चाताप गरिसकेका छन् ।

त्यसो भए फेरि ओली र प्रचण्ड पुरानै समझदारीमा फर्केर पछिल्लो दुई वर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सम्भावना होला ? यो पनि एउटा विकल्प हो । दुई अध्यक्षको निर्णयबाट पार्टी एकता भएकाले उनीहरुबीचको समझदारीलाई अहिलेसम्म नेकपाले अनुमोदन गर्दै आएको छ ।

ओलीले असार १४ गते मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा बोल्दा आफूलाई प्रधानमन्त्रीमा बसिरहन मन नभएको तर अहिले छाड्दा भारतको सफलता हुने आशय व्यक्त गरेका थिए । ओली र प्रचण्डबीच पटक–पटक ठूला असमझदारी हुने र फेरि लेनदेन मिलेर सहमति हुने गरेका छन् ।

अहिले पनि प्रचण्ड निकट नेताहरुले उनलाई ओलीसँगै समझदारी गरेर अघि बढ्न सुझाव दिइरहेका छन् । ओली निकट नेताहरुले पनि प्रचण्डसँग समझदारी गरेर जाँदानै फाइदा हुने सुझाव दिइरहेकै छन् । तर, पटक–पटक ओलीबाट धोका भएकाले प्रचण्ड अब ओलीसँग समझदारी गरेर माधव–झलनाथहरुलाई चिढ्याउन चाहँदैनन् ।

यद्यपि, संसदको यही कार्यकालमा प्रधानमन्त्री बन्ने प्रचण्डको चाहना छ भन्ने ठानेका ओली पक्षका केही नेताहरुले दुई अध्यक्षबीच आलोपालोको समझदारी बनाउने प्रयास गरिरहेको देखिन्छ । दुई अध्यक्ष मिल्दा नेकपा बिभाजनबाट जोगिन्छ भन्नेहरुले यो विकल्पमा प्रयास गरिहेका छन् ।

केपी ओलीलाई अपमानपूर्वक हटनेरहटाउने वा पार्टी विभाजनसम्मको ठाउँमा पुग्नेभन्दा यो विकल्पमा जान उचित हुने ओली पक्षका नेताहरुको बुझाइ देखिएको छ । तर, यो विकल्प सजिलो छैन । प्रचण्ड र ओलीबीच अविश्वासको चरम अवस्था छ । प्रचण्डको प्राथमिकता ओलीलाई प्रधानमन्त्रीबाट हटाउने नै हो । अध्यक्षबाट छोडाउने प्राथमिकताचाहिँ माधव नेपालको हो ।

चौथो विकल्प स् संसदीय दलमा बहुमत देखाउने

दुई अध्यक्ष र मुख्य नेताहरुबीचको समझदारीमा पार्टी र सरकार सञ्चालन गर्ने मध्यमार्गी विकल्पमा प्रचण्ड–माधव पक्ष नमान्ने, अनि दुईमध्ये एक पद छाड्नुपर्ने विकल्पमा ओली नमान्ने हो भने अर्को विकल्प के त ? नेकपाभित्र यसबारे पनि छलफल र बहस भइरहेका छन् ।

ओलीका सामु चौथो विकल्प भनेको संसदीय दलमा आफ्नो बहुमत देखाउने । ओलीले राजीनामा दिन तयार नभए राजीनामा गराउने निर्णय बैठकबाटै गराउनेसम्मको तयारी भइरहेको छ । प्रचण्ड–माधव नेपाल पक्षले बहुमतबाट त्यस्तो निर्णय गरेमा ओलीले संसदीय दलको सामना गर्छु भन्न सक्छन् ।

प्रतिनिधिसभामा नेकपामा १७४ जना सांसद छन् । केपी ओलीको पक्षमा पूर्वएमालेका कम्तिमा ७८ देखि बढीमा ८१ सांसद छन् ।

पाँचौं विकल्प: पार्टी विभाजन

पार्टीले निर्णय गरेर ओलीलाई हटाउन खोज्यो भने नेकपा फुट्न सक्छ । केपी ओली पार्टीको बहुमतले निर्णय गरिहाल्यो भनेर खुरुखुरु बालकोट फर्किंने स्वाभावका नेता होइनन् ।

स्थायी कमिटी बैठकको उद्घाटन भाषणमा प्रचण्डले पार्टी फुट्न सक्ने सम्भावना औंल्याएका थिए । उनले पार्टी फुट्न पनि सक्ने तर अब फुट्दा एमाले र माओवादी भएर नफुट्ने बताएका थिए । उनले पार्टी फुट्यो भने एमाले माओवादी मिसिएरै फुट्ने प्रष्टै शब्दमा सुनाएको नेताहरु बताउछन् ।

आफूलाई हटाउन खोज्दा पार्टी फुटाउने अलोकप्रिय र जोखिमपूर्ण विकल्प ओलीसँग रहने छ । विद्यमान कानुन अनुसार पार्टी विभाजन गर्न केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत सदस्य हुनुपर्छ । ओलीसँग केन्द्रीय कमिटीमा ४० प्रतिशत छैन ।

संसदीय दलमा भने राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरु समेत जोडिने भएकाले ओलीसँग ५० प्रतिशतभन्दा बढी संख्या छ । पार्टी फुट्ने विकल्पमा जाँदा ओलीले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी यसअघि फिर्ता भएको अध्यादेश फेरि जारी गर्नुपर्ने हुन्छ ।

पानी बाराबारको अवस्थामा हरेका ओली र प्रचण्डले जसरी चुनावी गठबन्धन र पार्टी एकताको निर्णय गरेर दुनियाँलाई सरप्राइज दिएका थिए, अहिले पनि दुई अध्यक्षबीच समझदारी हुनै नसक्ने ठाउँमा परिस्थिति पुगि नसकेको संवादमा रहेका नेताहरु बताउछन् ।

ती नेता भन्छन्– प्रधानमन्त्रीले आफ्नो कार्यशैली सुधार गर्ने, प्रचण्डसँग समझदारीमा चल्ने र दुई अध्यक्षबीच हरेक विषयमा सहमति गरेर पार्टी बैठकमा अनुमोदन गराउने ।

माधव नेपालसहितका नेताहरुको समेत विश्वास र समझदारीमा सरकार चलाउने हो भने नेकपा जोगिन्छ । जसरी पनि हटाउन खोजियो भने दुर्घटना हुन्छ ।

नेकपाका दोस्रो र तेस्रो तहका नेताहरु पार्टी कुनै पनि हालतमा फुट्न नदिन जुटेका छन् । केही दिन बैठक लम्बिदै जाँदा नेताहरुको आक्रोश पनि मत्थर हुने र पहिलो विकल्पमै सहमति हुने सम्भावना देखिरहेका छन् । खास गरी केपी ओली पक्षका नेताहरुले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउँँदा पार्टी फुट्छ भन्ने तर्क गरेर प्रधानमन्त्रीलाई तत्काल हटाउन नहुने जिकिर गरिरहेको देखिन्छ । अनलाईन खबर

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्