मुस्ताङको नुन खानी उत्खनन् गर्न सरकारले निकाल्यो सूचना

खानी तथा भूगर्भ विभागले मुस्ताङ जिल्लामा रहेको नुन खानी उत्खनन्को प्रक्रिया शुरु गरेको छ । विभागले खानी खोतल्न इच्छुक व्यक्ति तथा कम्पनीसँग आवेदन मागेको छ ।

विभागले ३ असारमा खास खनिज प्रवर्द्धन सम्बन्धमा निकालेको सूचनामा इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्ने उल्लेख छ ।

विभागले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको नर्सिङखोलामा रहेको नुन खानी उत्खनन्का लागि अनुमतिपत्र दिन लागेको हो । उक्त क्षेत्रको चट्टानमा गरिएको रासायनिक परीक्षणले ७०.२८ प्रतिशतदेखि ९३.७ प्रतिशतसम्म सोडियम क्लोराइड रहेको देखाएको थियो ।

“रासायनिक परीक्षणले गुणस्तरीय नुन रहेको देखाएपछि उत्खनन्का लागि प्रक्रिया शुरु गरिएको हो”, विभागका प्रवक्ता डा. जनकबहादुर चन्दले बताए ।

यसअघि विभागले गरेको अध्ययनले नर्सिङखोला क्षेत्रको २ किमी क्षेत्रफलमा नुनको भण्डार रहेको देखाएको थियो। जोमसोमबाट ३० किमी टाढाको छुसाङको तेताङ क्षेत्रमा नुनखानी छ ।

दुई दशकअघिसम्म त्यस क्षेत्रमा स्थानीय रुपमा नुनको उत्पादन हुने गरे पनि अहिले बन्द छ ।

तीन वर्षअघि सरकारी टोलीको अध्ययनले उक्त क्षेत्रको नुनखानी उत्खनन् गर्न सकिने प्रतिवेदन दिएको थियो । विभागका प्रवक्ता चन्दले ‘हिमालयन साल्ट’ का रुपमा ब्राण्डिङ गरेर यसलाई बिक्री गर्न सकिने बताए ।

विभागले मकवानपुरको दामनमा रहेको ग्रेनाइट (पत्थर) खानी, सल्यानको कपुरकोट र धादिङको कान्द्राङगढी स्थित चुनढुंगा खानीको पनि उत्खनन् प्रक्रिया शुरु गरेको छ ।

त्यस्तै, धादिङको धुसा, मकवानपुरको अग्रा खोला, उदयपुरको लेखानीमा रहेका तामा खानीको सम्भाव्यता अध्ययन गर्न पनि इच्छुकसँग आवेदन माग गरेको छ ।

यसैगरी, रोल्पाको सुनछहारी गाउँपालिकाको सुनखानीको सम्भाव्यता अध्ययनका लागि पनि प्रस्ताव आह्वान गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्