ओली–दाहाल भेटवार्ता सकियो, के भयो सहमती ?

ओली–दाहाल भेटवार्ता सकियो, बुधबारको स्थायी कमिटी बैठक अघि फेरि छलफल गर्ने


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच भएको भेटवार्ता सकिएको छ। झण्डै तीन घण्टा चलेको भेटवार्ताले भोलि (बुधबार) स्थायी कमिटी चलाउने सहमति भएको छ।

“दुई अध्यक्ष बीचको भेटवार्ता सकारात्मक भएको छ। भोलि स्थायी कमिटी बैठक राख्ने र त्यो भन्दा अगाडि दुई अध्यक्ष बीच फेरि वार्ता हुनेछ”, दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले भने। १८ असारमा प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेपछि स्थायी कमिटी बैठक अनिश्चित हुँदै आएको छ।

तर, भोलि बैठक बस्ने तय भएको संयोजक सापकोटाले बताए। उनका अनुसार, स्थायी कमिटी बैठकमै पार्टीभित्र देखिएको समस्याबारे छलफल हुनेछ।

मदन जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले भारतीय दूतावास आफूलाई हटाउन सक्रिय भएको र नेपालकै नेताहरुले राजीनामा मागेको अभिव्यक्ति दिएपछि नेकपा फुटको संघारमा देखिएको छ।

१६ असारको स्थायी कमिटीमा प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने नेताहरुले दबाब दिएका थिए। यसपछि भने प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरे।

पार्टीभित्रको विवाद चर्किंदै जाँदा ओली निकट युवा विद्यार्थीले प्रदर्शन गरिरहेका छन् भने अर्का खेमा पार्टी एकताका लागि दबाब दिन भन्दै पार्टी कार्यालयमा धर्ना दिइरहेका छन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्