कञ्चनपुरको देखतभुली–पर्सिया पुल २ वर्षदेखि अलपत्र

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा दोदा नदीमाथि २०७२ मा निर्माण शुरू भएको पुल अलपत्र बनेको छ । देखतभुली–पर्सिया–शंकरापुर गाउँ जोड्ने १७० मिटर लामो पक्की पुल २५ पुस २०७५ मा निर्माण सम्पन्न भइसक्नुपर्ने थियो ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी इञ्जिनीयर लक्ष्मणदत्त जोशीले पुलको डिजाइनमा समस्या देखिएपछि निर्माण बन्द भएको बताए । उनका अनुसार २०७२ पुस २६ देखि शुरू भएको पुलको निर्माण डेढ वर्षदेखि ठप्प छ । करीब २४ करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको उक्त पुलमा हालसम्म पिलर मात्रै हालिएको छ । २०७५ पुस २६ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि डिजाइनमा समस्या भएको भन्दैै निर्माण अलपत्र पारिएको हो ।

फूटपाथसहित २ लेनको पुल बनाउने जिम्मा पाएको ठेकेदार कम्पनी लुम्बिनी राजेन्द्र श्रेष्ठ जेभीले प्राविधिक समस्या आएको भन्दै निर्माण कार्य बन्द गरेको हो । ‘पुलको डिजाइनमै समस्या आयो, त्यसैले निर्माण रोकिएको छ,’ सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी इञ्जिनीयर जोशीले भने, ‘पुलको डिजाइनमा समस्या देखिपछि विभागलाई

पुलको नयाँ डिजाइनका लागि माग गरेका छौं ।’ लकडाउनका कारण नक्सा डिजाइनमा ढिलाइ भएको भन्दै उनले विभागले नक्सा पठाएपछि काम शुरू हुने बताए ।
उनका अनुसार पुलको पाइलिङ हाल्ने क्रममा पानीको ‘पासआउट’मा समस्या देखिएको छ । जमीनको सतहमुनि पानी भेटिएपछि पाइलिङमा समस्या भएको हो । पुनः डिजाइनका लागि माटोको परीक्षण गरी फाइल पठाइसकिएको उनको भनाइ छ ।

निर्माण कम्पनीका साइट इञ्जिनीयर वसुन्धरा भट्टले डिजाइनमा समस्या भएपछि निर्माण बन्द गरिएको बताए । ‘पाइलिङका क्रममा बालुवाभन्दा १० मिटरमुनि पानी आएपछि फाउन्डेसन निर्माणमा चुनौती भएको छ । डिजाइनमै समस्या रहेछ । त्यसअनुसार बनाउँदा पुल कमजोर बन्ने देखियो,’ उनले भने । पाइलिङ हाल्दा बालुवामुनिको पानीले कंक्रिट बगाएको उनले बताए ।

दोदा नदीमा पुल नहुँदा लालझाडी गाउँपालिकाको देखतभुली–पर्सिया जोड्ने सडकमा सवारीसाधन आवतजावत बन्द छ । नदीमा पानीको बहाव बढेपछि सवारीसाधन आवतजावत बन्द भएको हो । वर्षात्को समयमा लालझाडीको देखतभुली–पर्सिया सडकमा आवतजावत बन्द हुने गरेको स्थानीयको भनाइ छ ।

दोदा नदीमाथि निर्माण गरिएको काठेपुल नदीले बगाएपछि स्थानीय बासिन्दा जोखिमपूर्ण रूपमा यात्रा गर्दै आएका छन् । नदीले काठेपुल बगाएपछि उनीहरूको जनजीवन कष्टकर बनेको छ । नदीमा पुल नहुँदा स्थानीयवासी महेन्द्रनगर आउन ४–५ घण्टा बढी समय लाग्ने बाटो प्रयोग गर्न बाध्य छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्