शरीरमा प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ ?

बाँच्नको लागि मानिसको शरीरमा प्रतिरक्षा प्रणाली आवश्यक हुन्छ । यो प्रणालीले हाम्रो शरीरमा ब्याक्टेरिया, भाइरस, परजीवीलगायतबाट हुने आक्रमणबाट बचाउँछ । हाम्रा वरिपरी नै यस्ता रोगवाहकहरु रहँदा प्रतिरक्षा प्रणालीले हामीलाई स्वस्थ राख्छ ।

प्रतिरक्षा प्रणली कोशिका र तन्तुहरुको ठूलो सञ्जाल हो । यो प्रणालीले आक्रमणकारीको खोजी गरिरहेको हुन्छ । कुनै आक्रमणकारी देखियो भने त्यसलाई तत्काल यो प्रणालीले आक्रमण गर्छ र शरीरमा प्रवेश गर्नबाट बचाउँछ ।

शरीरमा प्रतिरक्षा प्रणाली शरीरभर फैलिएको हुन्छ । यसमा धेरै किसिमको कोशिका, अंग, प्रोटिन र तन्तुहरु हुन्छन् । महत्वपूर्णरुपमा यो प्रणालीले हाम्रो शरीरको तन्तु र बाहिरको तन्तुलाई छुट्याउँछ । साथै मृत र दोषपूर्ण कोशिकाहरुलाई पनि पहिचान गरेर प्रतिरक्षा प्रणालीभन्दा बाहिर राख्ने गर्छ ।

हाम्रो प्रतिरक्षा प्रणलीले कुनै पनि ब्याक्टेरिया, भाइरस वा परजीवीलाई गर्ने आक्रमणलाई इम्युन रेस्पोन्स भनिन्छ । यहाँ प्रतिरक्षा प्रणालीका मुख्य पात्रहरु उल्लेख गरिएको छ ।

सेता रक्तकोष

सेता रक्तकोषलाई ल्युकोसाइट्स पनि भनिन्छ । सेता रक्तकोष हाम्रो शरीरभर रक्तनलीको माध्यमबाट फैलिएको हुन्छ । रगतसँगै सेता रक्तकोष पनि बगिरहेको हुन्छ । उनीहरु पनि रोग वाहकको खोजीमा हुन्छन् । उनीहरुले लक्ष्य भेटेसँगै त्यससँग लड्ने प्रयास गर्छन् र अन्य कोशिकाहरुलाई पनि त्यस्तै गर्न संकेत पठाउँछन् ।

हाम्रो शरीरमा सेता रक्तकोष पनि फरक भागमा जम्मा भएर बसेका हुन्छन् । जसलाई लिम्फोइड अर्गान्स भनिन्छ । लिम्फोइड अर्गानमा निम्न कुराहरु समावेश हुन्छन् –

– थिमस ः घाँटीको तल्लो भाग र फोक्सोको बीचमा रहेको ग्रन्थी

– स्प्लीन ः रगल सफा गर्ने अंग हो । यो हाम्रो पेटको बायाँपट्टी माथिल्लो भागमा हुन्छ ।

– बोनम्यारो ः यो हाडको बीचमा पाइन्छ, यसले राता रक्तकोष पनि निर्माण गर्छ ।

– लिम्फ नोड्स ः साना ग्रन्थीहरु जुन हाम्रो शरीरभरी हुन्छन् ।

सेता रक्तकोष दुई प्रकार हुन्छन्

१. फागोसाइट्स

यी कोषहरुले रोगवाहकहरुलाई घेर्छन् र सोसेर त्यसलाई नष्ट गरिदिन्छन् र खान्छन् । यसका पनि केही प्रकार हुन्छन् –

– न्युट्रोफिल्स ः यो फागोसाइटको सबैभन्दा धेरै पाइने प्रकार हो । यसले ब्याक्टेरियालाई आक्रमण गर्ने काम गर्छ ।

– मोनोसाइट्स ः यो फागोसाइट्सको सबैभन्दा ठूलो प्रकार हो र यसको केही धेरै भूमिका हुन्छ ।

– म्याक्रोफेज्स ः रोगवाहकको निगरानी गर्ने र मृत वा नष्ट हुने काम गर्न नसक्ने अवस्थामा पुगेको कोशिकाहरुलाई हटाउने काम गर्छ ।

– मास्क सेल्स ः यसको घाउ पुर्न सहयोग गर्नेदेखि रोगवाहकसँग लड्नेसम्मको काम यसले गर्छ ।

२. लिम्फोसाइट्स

लिम्फोसाइट्सले शरीरमा यसअघि आक्रमण गर्नेहरुलाई याद गर्छ र उनीहरु पुनः आक्रमण गर्न आए उनीहरुलाई पहिचान गर्ने काम पनि गर्छ ।

लिम्फोसाइट्सको जीवन बोनम्यारोबाट शुरु हुन्छ । केही म्यारोमा नै रहन्छन् र बी लिम्फोसाइट्स (बी सेल्स)मा विकसित हुन्छन् । अरु थाइमसतर्फ जान्छन् र टी लिम्फोसाइट्स (टी सेल्स) बन्छन् । कोशिकाका यी दुई प्रकारको छुट्टै किसिमको भूमिका छ –

बी लिम्फोसाइट्स–यसले शरीरमा कुनै पनि रोगविरुद्ध एन्टिबडी जिकास गर्ने काम गर्छ र टी लिम्फोसाइट्सलाई सतर्क गराउँछ ।

टी लिम्फोसाइट्स– यसले शरीरमा रहेको हानिकारक कोषलाई नष्ट गर्ने र अन्य सेता रक्तकोषलाई सतर्क गराउने काम गर्छ ।

प्रतिरोधी क्षमताले कसरी काम गर्छ ?

सबैभन्दा पहिला प्रतिरक्षा प्रणालीले कुन आफ्नो र कुन बाहिरको भन्ने कुरा पत्ता लगाउनु जरुरी हुन्छ । प्रणालीले यो काम सबै कोशिकाको सतहमा भएको प्रोटिनको आधारमा गर्छ । शुरुवाती चरणमा यसले आफ्नै प्रोटिनलाई पनि वेवास्ता गर्न सिक्छ ।

एन्टिजिन यस्तो पदार्थ हो, जसले प्रतिरक्षा प्रणालीमा इम्युन रेस्पोन्सलाई जगाउँछ । धेरैजसो मामिलामा एन्टिजिन एक जीवाणु, भाइरस, विष वा बाहिरी पदार्थ हो । तर, यो हाम्रो शरीरको कोशिकाको एक भाग बन्न सक्छ । हाम्रो शरीरमा यो एक दोषपूर्ण वा मृत कोशिकाको रुपमा हुन सक्छ । शुरुमा कोशिकाकाहरुले आक्रमणकारीको रुपमा एन्टिजिनलाई पहिचान गर्न मिलेर काम गर्छन् ।

बी लिम्फोसाइट्सको भूमिका

बी लिम्फोसाइट्सले एकपटक एन्टिजिन पहिचान गरिसकेपछि एन्टिबडी निर्माणको काम शुरु गर्छ । एन्टिबडी एक विशेष किसिमको प्रोटिन हो जसले निश्चित एन्टिजिनलाई रोक्न सक्छ । प्रत्येक बी सेल्सले एक विशेष एन्डिबडी निर्माण गर्छ । उदाहरणको लागि एउटाले निमोनिया लगाउने ब्याक्टेरियाविरुद्धको एन्डिबडी विकास ग¥यो भने अर्कोले रुघाखोकीको भाइरसको पहिचान गरेको पनि हुन सक्छ ।

एन्टबडी ठूलो रसायन परिवारको एक भाग हो । यो रसायन परिवारलाई इम्युनोग्लोबुलिन्स भनिन्छ । जसले इम्युन रेन्पोन्समा धेरै भूमिका निर्वाह गर्छ –

– इम्युनोग्लोबुलिन जी (आईजीजी) – जीवाणुहरुलाई चिनो लगाउने काम गर्छ, जसको कारण अरुले त्यसलाई पहिचान र नष्ट गर्न सक्छन् ।

(आईजीएम– ब्याक्टेरिया मार्ने विज्ञ हो ।

– आईजीए– आँसु र ¥यालजस्तै तरल पदार्थ, जसले शरीरभित्र प्रवेश गर्ने द्वार सुरक्षित राख्छ ।

– आईजीई– परजीवीबाट बचाउँछ र एलर्जीको पनि कारक हो ।

– आईजीडी – बी लिम्फोसाइट्सले घेरिएको हुन्छ र इम्युन रेस्पोन्सको लागि सहयोग गर्छ ।

एन्डिबडीले एन्टिजिनलाई रोक्ने काम गर्छ तर मार्दैन, केवल मार्नको लागि चिनो लगाउने काम गर्छ । यसलाई मार्ने काम फागोसाइट्सजस्ता अन्य कोशिकाले गर्छन् ।

टी लिम्फोसाइट्सको भूमिका टी लिम्फोसाइट्सका दुई प्रकार छन्

हेल्पर टी सेल्स (टीएच सेल्स) – यिनीहरुले इम्युन रेस्पोन्ससँग समन्वय गर्छन् । केहीले अन्य कोशिकाहरुसँग पनि सम्पर्क गर्छन् र केहीले बी सेल्सलाई थप एन्टिबडी निर्माणको लागि सुझाउँछन् । अरुले टी सेल्स र कोशिकालाई खाने फागोसाइट्सलाई अकर्षित गराउँछन् ।

किलर टी सेल्स (साइटोटोक्सिक टी लिम्फोसाइट्स) – यी टी सेल्सले अन्य कोशिकालाई आक्रमण गर्छन् । यी कोशिकाहरु भाइरसहरुविरुद्ध लड्न प्रयोगमा आउँछन् । यिनीहरुले संक्रमित कोशिकाको बाहिररहेका भाइरसहरुमाथि आक्रमण गर्छन् र संक्रमित कोशिकालाई नष्ट गरिदिन्छन् ।

प्रतिरक्षा

सबै मानिसको प्रतिरक्षा प्रणाली फरक हुन्छ । तर, सामान्य नियमअनुसार प्रतिरक्षा प्रणाली मानिस वयस्क हुँदै जाँदा बलियो हुँदै जान्छ । समयसँगै मानिस धेरै रोगवाहकको सम्पर्कमा आउँछन् र थप बलियो प्रतिरक्षा विकास हुँदै जान्छ । त्यसैले किशोर÷किशोरी र वयस्क मानिसभन्दा पनि बालबालिकाहरु बढी बिरामी पर्छन् । एकपटक शरीरमा एन्टिबडीको विकास भए पछि त्यसको एक प्रति शरीरमा बाँकी हुन्छ । त्यस्तै एन्टिजिन शरीरमा प्रवेश ग¥यो भने त्यसलाई शरीरले छिटै नै परास्त गरिदिन्छ ।

मानव शरीरमा तीन किसिमको प्रतिरक्षा हुन्छ – इननेट, एडप्टिभ र प्यासिभ ।

इननेट इम्युनिटी

हामी सबै जन्मिँदा नै हाम्रो शरीरमा कुनै स्तरसम्मको प्रतिरक्षा प्रणाली हुन्छ । मानव प्रतिरक्षा प्रणाली धेरै जनावरहरुमा जस्तै हुन्छ, जसले पहिलो दिनदेखि नै काम गर्न शुरु गर्छ । यो इननेट इम्युनिटीमा बाहिरी आक्रमणबाट हचाउने हाम्रो शरीरको छाला, पेट र घाँटीको श्लेष्म झिल्लीलगायतका रोगवाहकलाई रोक्ने प्रतिरक्षा सामेल हुन्छ । यस किसिमको प्रतिरक्षा प्रणाली निकै सामान्य हुन्छ । यस्तो अवस्थामा रोगवाहकले यो प्रणालीलाई तोडेको खण्डमा एडप्टिभ वा एक्वायर्ड इम्युनिटी आवश्यक हुन्छ ।

एडप्टिभ (एक्वायर्ड) इम्युनिटी

मानिस बढ्दै गएपछि बाहिरी कारणले विकास हुने प्रतिरक्षा प्रणालीलाई एडप्टिभ वा एक्वायर्ड इम्युनिटी भनिन्छ । हामी कुनै रोगको सम्पर्कमा आउँछौ र खोप लगाउँछौ भने फरक फरक किसिमको रोगवाहकको लागि एन्टिबडीको विकास हुन्छ । यसैलाई इम्युनोलोजिकल मोमोरी पनि भनिन्छ । किनकी हाम्रो प्रतिरक्षा प्रणालीले यसअघिका आक्रमणकारीहरुलाई पनि चिनेको हुन्छ ।

प्यासिभ इम्युनिटी

यस किसिमको प्रतिरक्षा अर्को स्रोतबाट आएको प्रतिरक्षा प्रणाली हो । उदाहरणको लागि कुनै शिशुमा गर्भमा रहँदा वा स्तनपानबाट आफ्नी आमामा भएको प्रतिरक्षा प्रणाली प्राप्त हुन्छ । यस किसिमको प्यासिभ इम्युनिटीले शिशुलाई केही वर्षसम्म रोगहरुसँग लड्ने क्षमता प्रदान गर्छ ।

इम्युनाइजेशन (खोप)

यो मानिसमा प्रतिरक्षा क्षमता बढाउने विधि हो । यसको लागि एन्टिजिन वा कमजोर रोगवाहकलाई मानिसको शरीरमा पठाइन्छ । जसले मानिसलाई बिरामी बनाउन सक्दैन तर यसको सहयोगमा मानिसको प्रतिरक्षा प्रणालीले एन्टिबडी निर्माण गर्छ । जसको कारण भविष्यमा वास्तविक रोगवाहक शरीरमा प्रवेश गरेको खण्डमा प्रतिरक्षा प्रणालीले त्यसलाई परास्त गर्न सक्छ ।

स्रोत: मेडिकल न्युज टुडे

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्