नयाँदिल्ली — रक्षामन्त्रीस्तरीय बैठकमा सीमा विवाद थप बल्झिन नदिने र संवादलाई निरन्तरता दिने सहमति गरेको दुई दिन नबित्दै भारत र चीन सीमा क्षेत्रमा फेरि तनाव चर्किएको छ । सोमबार राति पूर्वी लद्दाखकै पाङगोङ छो ताल किनारको रेजाङ लास्थित सीमा क्षेत्रमा भएको फायरिङका कारण फेरि तनावपूर्ण स्थिति उत्पन्न भएको हो ।
चीन–भारत सीमा क्षेत्र लद्दाखको पहाडी इलाकामा मंगलबार उडेको भारतीय हवाई सेनाको ‘सी–१७ ग्लोबमास्टर’ विमान । तस्बिर ः रोयटर्स
उक्त घटनालाई लिएर दुवै देशबीच आरोप–प्रत्यारोप पनि सुरु भएको छ । दुवै देशले आफ्नोतर्फबाट गोली नचलाएको दाबी गरेका छन् ।
चीनले सोमबार मध्यरात विज्ञप्ति जारी गर्दै भारतमाथि परिस्थिति भड्काएर द्विदेशीय सीमाको उत्तरी खण्डमा पर्ने बांगङ हुनानमा लाइन एफ एक्चुअल कन्ट्रोल (एलएसी) पार गरेको आरोप लगाएको छ ।
‘भारतीय सेनाले एक्कासि गोली चलाएपछि त्यहाँ तैनाथ चिनियाँ सीमारक्षकहरूले स्थिति नियन्त्रणमा लिन उचित कदम चाल्न बाध्य भए । भारतीय पक्षबाट भएको उक्त कदम दुवै देशबीच भएका समझदारीहरूको गम्भीर उल्लंघन हो । यस्ता घटनाले क्षेत्रीय तनाव, असमझदारी र अविश्वास थप बढाउने काम गरेको छ,’ चिनियाँ सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चीनको उक्त आरोपलाई भारतले भने ठाडै अस्वीकार गरेको छ । मंगलबार बिहान भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै भारत एलएसीको तनाव कम गर्न प्रतिबद्ध रहेको जनाएको छ । चीनले सीमा क्षेत्रमा तनाव बढाउने गरी उत्तेजक गतिविधि गरेको भारतको आरोप छ ।
‘भारतीय सेनाबाट एलएसी पार गरेर गोली चलाउनेजस्तो परिस्थिति भड्काउने काम कुनै पनि अवस्थामा हुन सक्दैन । बरु सैन्य, कूटनीतिक र राजनीतिक तहमा तनाव कम गर्न पहल भइरहेका बेला पीएलएका तर्फबाट समझदारीहरूको ठाडो उल्लंघन गर्ने काम भएको छ । पीएलएका तर्फबाट भयभीत पार्नका लागि केही राउन्ड गोली हावामा चलाइएको थियो,’ भारतीय सेनाले भनेको छ ।
साथै, उत्तेजित पार्न गम्भीर प्रयास हुँदाहुँदै पनि भारतीय सेनाले संयम अपनाउँदै परिपक्व र जिम्मेवार व्यवहार देखाएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैगरी, भारतीय सेनाले ‘चिनियाँ पक्षबाट आएको विज्ञप्तिलाई घरेलु र अन्तर्राष्ट्रिय जगत्लाई भ्रममा पार्ने प्रयास’ भनेको छ ।
गएको दुई साताभित्रै सीमा क्षेत्रमा दुई देशका सैनिकहरू आमनेसामने भएको यो दोस्रो घटना हो । यसअघि अगस्ट २९ को राति पूर्वी लद्दाखमै दुवै देशका सैनिकबीच झडपको स्थिति बनेको थियो । त्यस घटनामा दुवै देशले एकआपसमा आरोप लगाएका थिए । तर, सीमा क्षेत्रमा गोली चलेको घटना भने ४५ वर्षपछिको पहिलो हो । दुई देशबीच करिब ३ हजार ५ सय किलोमिटर सीमाको विभिन्न खण्डमा तनाव हुँदै आए पनि गोली भने चलेको थिएन ।
अगस्ट २९ को घटनाका कारण परिस्थिति जटिल र तनावपूर्ण बनेको भन्दै त्यसलाई कम गर्न गत शनिबार दुई देशका रक्षामन्त्रीहरूले रुसको राजधानी मस्कोमा द्विपक्षीय छलफल गरेका थिए । छलफलमा भारतका तर्फबाट रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ समकक्षी वेई फेंगको नेतृत्वको टोली सहभागी भएको थियो । गत जुन १५ को मध्यरातमा गलवान उपत्यकामा दुवै देशका सैनिकहरूबीच झडप भएयताको यो सबैभन्दा उच्चस्तरीय भेट हो ।
तर, त्यसको दुई दिन नबित्दै सीमा क्षेत्रमा गोली चल्ने परिस्थिति बन्नुलाई रक्षा मामिलाका जानकारहरूले समेत गम्भीर घटनाका रूपमा अर्थ्याएका छन् । दुई देशबीच विगत केही महिनादेखि सीमा विवादका कारण देखिएको तनाव थप बढ्ने र उक्त क्षेत्रमा सैन्यकरण थप बढ्ने अनुमानसमेत उनीहरूको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार तनाव बढ्ने क्रमसँगै दुवै देशले त्यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउँदै लगेका छन् । भारतीय विदेशमन्त्री एस जयंशकरले पनि चीनसँगको पछिल्लो तनावलाई गम्भीर भनेका छन् । भारतीय अंग्रेजी दैनिक द इन्डियन एक्सप्रेसले सोमबार गरेको एक भिडियो छलफलमा विदेशमन्त्री जयशंकरले ‘सीमा क्षेत्रको पछिल्लो परिस्थिति अत्यन्त गम्भीर भएको र त्यसलाई सुल्झाउन राजनीतिक स्तरमा सघन संवादको आवश्यकता’ भएको बताएका थिए ।
दुई मुलुकबीच करिब आधा दर्जन क्षेत्रमा दशकौंदेखि विवाद रहँदै आएको छ । सीमा विवादलाई लिएर सन् १९६२ मा दुई मुलुकबीच युद्धसमेत भएको थियो । चीन र भारतबीचको विवादास्पद क्षेत्रलगायत केही सीमा एलएसीबाट छुट्ट्याइएको छ । दुवै मुलुकले समय–समयमा एकअर्कालाई एलएसीको उल्लंघन आरोप लगाउँदै आएका छन् । गत जुन दोस्रो सातादेखि गलवान उपत्यका, तातो पानी र पाङगोङ ताल क्षेत्रको त्यही एलएसीमा भएको अतिक्रमणलाई लिएर तनाव चर्किएको हो ।
जुन १५ को राति गलवान उपत्यकाको एलएसी क्षेत्रमा दुई देशका सैनिकहरूबीच हिंसात्मक झडप नै भएको थियो । झडपमा २० भारतीय सैनिक मारिएका थिए । चिनियाँ पक्षतर्फ भएको क्षतिबारे भने कुनै जानकारी सार्वजनिक गरिएको छैन ।
घटनापछि दुई देशबीचको तनाव उत्कर्षमा पुग्यो । यसैबीच दुई मुलुकबीच उच्च तहमा भेटघाट र संवाद भए पनि ठोस सहमति जुट्न सकेको छैन । गलवान झडपपछि भारतले चीनविरुद्ध सीमा क्षेत्रमा मात्र नभएर आर्थिक र व्यापारिक क्षेत्रमा पनि आक्रामक रणनीतिक अख्तियार गरेको छ । उसले चिनियाँ कम्पनीहरूका कतिपय ठेक्का रद्द गरेको छ भने २ सयभन्दा बढी चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाइसकेको छ ।