जैविक खानाले गंभीर रोगको जोखिम कम गराउँछ

लकडाउन भएयता शहरी क्षेत्रमा पनि कौसी खेती गर्ने प्रवृत्ति व्यापक बनेको छ । घरको छत, बार्दली वा बगैंचामा सागसब्जी रोप्ने लहर चलेको छ । यसबाट प्रत्यक्ष रुपमा केही फाइदा हुने नै छ ।

एक, आफ्नै हातले उत्पादन गरेको ताजा सागसब्जी खान पाइयो ।

दुई, शारीरिक रुपमा सक्रिय भइन्छ ।

तीन, भान्साको खर्च कटौती हुन्छ ।

सबैभन्दा महत्वपूर्ण त के भने, जैविक खानेकुरा खान पाइन्छ । किनभने हामीकहाँ बजारमा जैविक सागसब्जी पाउन गाह्रो हुन्छ । सागसब्जी उत्पादन गर्ने क्रममा प्रयोग गर्ने किटनासदेखि फलाउन र भण्डारण गर्न प्रयोग गरिने अनेक रसायनले सागसब्जीलाई विषाक्त बनाइदिन्छ । हाम्रो भान्सामा त्यस्तै सागसब्जी आइपुग्छ ।

भनिन्छ, पछिल्लो समय खानपानकै कारण मान्छेमा रोग बढ्दो छ । अर्थात अहिले जतिपनि रोगहरु देखापरेका छन्, त्यसमा मान्छेको खराब खानपान प्रमुख रुपमा देखिएको छ ।

जबकी खानाले नै हामीलाई जीवित, स्वास्थ्य र तन्दुरुस्त राख्नुपर्ने हो । खासगरी विषाक्त खानेकुरा जथाभावी सेवनले हामीलाई दिनदिनै अस्पतालको शैयामा पु¥याउँदैछ । क्यान्सर जस्तो घातक रोगको पछाडि हाम्रो खराब खानपान जोडिएको छ ।

यदि शुद्ध, ताजा र जैविक खानेकुरा खाने हो भने त्यही खाना नै औषधि बराबर मानिन्छ । कुनैपनि किसिमको रसायन तथा किटनासक औषधि प्रयोग नगरिएको जैविक खानेकुरा स्वाद र सुगन्धले पनि भरिपूर्ण हुन्छ । यी खानामा प्रोटिन, भिटामिन, मिनरल्स लगायतका पोषक तत्व पनि यसमा प्रचुर मात्रामा पाइन्छ । यस्तो खानाबाट निरोगी एवं तन्दुरुस्त जीवन पाइन्छ । विभिन्न किसिमका घातक रोगहरुको जोखिमबाट बचिन्छ । एक अध्ययन अनुसार जैविक हिसाबले उत्पादन गरिएको खानापानले विशेष प्रकारका क्यान्सरको जोखिमलाई २५ प्रतिशतसम्म कम गर्न सकिन्छ ।

फ्रान्सको ‘सेन्टर अफ रिर्सच इन इपिडिमियोलोजी एण्ड इस्टेस्टिक्स’ तथा अमेरिकाको ‘हर्वाड टीएच चान स्कुल अफ हेल्थ’ले मानिसहरुमा जैविक खाद्य पदार्थको प्रभावबारे उक्त शोध गरेका थिए । शोधका अनुसार जैविक खाद्यको प्रयोगले स्तन क्यान्सर, प्रोस्टेट, कोलोरेक्टल क्यान्सर, लिम्फोमा (सेतो रक्तकोषिकाको क्यान्सर) लगायत ७० भन्दा बढी प्रकारका क्यान्सरको खतरा कम गर्न सकिन्छ ।

पछिल्लो समय खेतलाई उर्बरा बनाउन कयौ रसायनिक पदार्थ तथा किटनाशक औषधिको प्रयोग हुने गर्छ ।

बेलायतको ‘इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ले ग्लाइफोजेट, मेलाथियान तथा डायजिनानलाई क्यान्सरको कारक मानेको छ । यस्तै अन्य केही रसायनले एण्डोक्राइन ग्रन्थीलाई असर पार्छ र एस्ट्रोजेन हर्मोनको रुपमा काम गर्न हुदाँ यसलाई यसलाई स्तन क्यान्सरको जोखिम बढाउने कारक पनि मानिन्छ । यसरी खानपानकै कारण क्यान्सरलगायत रोगहरुको जोखिम बढ्दै जाँदा जैविक खानेकुराप्रति स्वभाविक रुपमा जागरण बढेको छ ।

त्यसो त अहिले विश्वमै जैविक खानेकुराको सेवनलाई जोड दिइदै आएको छ । जैविक खानेकुरा उत्पादनलाई व्यापक बनाइदैछ । साथसाथै घर–घरमा कौसी खेतीका लागि समेत प्रोत्साहित गरिदैछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्