गाडी चले, यात्रु आएनन्

अशोज ७, विराटनगर ।

लामो समयको बन्दाबन्दीपछि असोज १ गतेदेखि यातायात क्षेत्र सञ्चालनमा आएको छ ।

यातायात क्षेत्रको सञ्चालनसँगै व्यवसायीमा उत्साह त थपिएको छ तर सडक यातायात प्रति सर्वसाधारणको विश्वास जाग्न सकेको छैन । यात्रुको अभावमा बसपार्कबाट छु्टेका बस रित्तै हुने गर्छन् ।

‘यात्रु भेटिँदैनन्, बाटो नै सुनसान हुन्छ, तेल खर्च उठिरहेको छैन’ विराटनगरदेखि उदयपुरको बेलकासम्म जाने यात्रुबाहक बसका चालक रामबहादुर खड्काले भने ।

३१ सिट भएको यो बसमा सात–आठ जना मात्रै यात्रु चढ्ने गरेको खड्काको भनाइ छ । स्वास्थ्य मापदण्ड अनुसार पनि १६ जनासम्म यात्रु राख्न सक्ने भए पनि बाटामा यात्रु नभेटिने गरेको चालक खड्काले बताए । विराटनगर बसपार्कमा रहेको ट्राफिक बिटको तथ्याङ्कमा पछिल्लो तीन दिनमा दैनिक १२० को हाराहारीमा मात्रै बस छुट्ने गरेको देखिन्छ । बन्दाबन्दीअघि विराटनगर बसपार्कबाट सामान्य अवस्था रहँदा लामो तथा छोटो दूरीका दैनिक २५० देखि २८० बस छुट्ने गरेका थिए ।

मङ्गलबार विराटनगरबाट लामो दूरी अन्तर्गत काठमाडौंका लागि छ, भैरहवाका लागि एक, नारायणगढका लागि दुई र नेपालगञ्जका लागि एउटा बस छुटेको छ  ।

आन्तरिक उडान खुलेपछि विराटनगर–काठमाडौं चल्ने बसको सङ्ख्या अझै घटेको छ । हवाई मार्ग खुल्ला गरिएको र भाडादर अति न्यून भएका कारण काठमाडौँ जाने यात्रुले बसलाई भन्दा हवाइजहाजको यात्रालाई छान्न सक्ने विकल्प रहेको सुनौलो पूर्व नेपाल यातायातका राजु धमलाको भनाइ छ ।

बसमा ५० प्रतिशत भाडा बृद्धि गरेर ५० प्रतिशत नै यात्रु राख्नुपर्ने नियम छ । लामो दूरी भएका कारण सुरक्षित खानपिन र उठबस जस्ता कुरामा अति सावधानी अपनाउनुपर्ने बाध्यताले पनि यात्रुले हवाइमार्गलाई नै रोज्ने गरेको धमलाले बताए । झापाका विभिन्न स्थानबाट सञ्चालन हुने सवारी साधनको पनि यस्तै अवस्था छ । ती सवारी साधनले पनि यात्रु पाएका छ्रैनन् ।

असोज ५ गतेदेखि झापा जिल्लाका सबै बस काउन्टरले सेवा सञ्चालनमा ल्याए पनि यात्रु नआउँदा गाडी खाली नै कुदाउनुपरेको मेची बस प्रालिका अध्यक्ष विष्णु श्रेष्ठले बताए । ‘यातायात व्यवसायीले सडकमा गाडी गुडाउनु भनेको गाडीलाई मर्निङवाक गराउनुजस्तै भएको छ । तेल र कर्मचारीको आधा रकम पनि भाडाबाट उठ्दैन’, श्रेष्ठले भने ।

नेपालको पूर्वीनाका काँकडभिट्टाबाट कोरोना महामारीअघि काठमाडौं लगायातका गन्तव्यमा साना ठूला गरी दैनिक दुई हजार पाँच सय जति सार्वजनिक यातायातका साधन सञ्चालनमा आउने गर्थे तर अहिले मुस्किलले २५० सवारी साधन सञ्चालनमा भइरहेको श्रेष्ठले जानकारी दिए ।

झापा बिर्तामोडबाट पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर लगायतका जिल्लामा सेवा दिँदै आएका करिब तीन सय साना सवारी साधनमध्ये यतिबेला मुस्किलले दैनिक एक दर्जन सवारी साधन मात्रै सञ्चालनमा रहेको बताइएको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्