नेपाल–चीन सीमा विवाद: हिउँले पखालेर हेर्दा भेटियो ११ नम्बर स्तम्भ

काठमाडौं – हुम्लाको नाम्खा गाउँपालिका(६, लाप्चा क्षेत्रमा रहेको नेपाल(चीन सीमाको ११ नम्बर सीमास्तम्भ फेला परेको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरी नेतृत्वमा जिल्लाका सुरक्षा प्रमुखहरूको टोलीले हराएको भनिएको सीमा स्तम्भ फेला पारेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङले थाहाखबरलाई जानकारी दिए। ‘बुधबार सिडियो सा’पहरूले हराएको भनेको सीमा भेट्नुभएछ,’ उनले भने, ‘११ नम्बरको पिल्लर टाकुलेमा भेटिएको खबर आएको छ।’ लाप्चा क्षेत्रमा चीनले बनाइरहेको भवनको स्थलगत निरीक्षण गरेर प्रमुख जिल्ला अधिकारी गिरीको टोली गत आइतबार हिल्सा क्षेत्र गएको थियो।

११ नम्बरको पिल्लर हिल्सा प्रहरी चौकीबाट केही माथि भेटिएको अध्यक्ष तामाङ बताउँछन्। ‘असाध्यै माथि रहेछ पिल्लर, पाँच हजार २ सय मिटर भन्दा पनि धेरै उचाइमा भेटिएको छ,’ उनी भन्छन्। उनले हराएको सीमा स्तम्भ भेटेको खबर पाएपछि अब चीनले बनाइरहेको भवन कुन देशमा बनेको एकिन हुनुपर्ने बताएका छन्। ‘हिजो सिडियो सा’प, मेजर सा’प र अन्य सुरक्षाकर्मीको टोलीले हिँड्ने क्रममा हिउँको थुप्रोसँगै सिमेन्टको पिल्लरको टुप्पो देख्नुभएछ,’ प्रमुख जिल्ला अधिकारी गिरीलाई उदृत गर्दै उनले भने, ‘के होला भनेर हिउँ पन्छाएर र केही माटो खनेपछि त सीमा स्तम्भ पो भेटियो।

अनि त्यसलाई हिउँले नै पखालेर हेरियो, ११ नम्बरको पिल्लर बकाइदा लेखेकै रहेछ। अब चीनले बनाएको भवन कतातिर पर्छ भन्ने टुंगो लाग्नु पर्छ।’ शशस्त्र प्रहरीले हराएको भनिएको ११ नम्बरको पिल्लर खोज्नका लागि डिएसपी मोहन विष्टको नेतृत्वमा टोली खटाएको थियो।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालका अनुसार प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको सुरक्षा प्रमुखहरूको टोली अझै जिल्ला सदरमुकाम फर्केको छैन। हिल्सा क्षेत्रमा ११ नम्बरको पिल्लर भेटेपछि उक्त टोली सोही क्षेत्रमा रहेका अन्य सीमा स्तम्भको निरीक्षणमा लागेको बताइएको छ। चीनले आफ्नै भूमिमा बनाएको हो त भवन ? नाम्खा गाउँपालिकाका अध्यक्ष तामाङ चीनले आफ्नै भूमि दाबी गरेर भवनहरू बनाइरहेको ठाउँभन्दा धेरै परबाट २०६६ सालमै नेपालतर्फ सडक खनेकोले चीनले आफ्नो भनेको क्षेत्रलाई नेपालको मान्छन्। ‘२०६६ सालमा हामीले सडक खन्दा चीनकै डोजर ल्याएका थियौँ,’ उनले भने, ‘त्यो बेलामा बाटो खन्दा अहिले चीनले बनाएको ११ वटा भवनभन्दा साढे २ किलोमिटर उतासम्म परेको ठाउँबाट शुरू गरेका हौँ।

त्यतिबेला हामीले सडक निर्माणको काम शुरू गरेको ठाउँलाई दुई देशको सीमा भनिएको थियो।’ आइतबार लाप्चा क्षेत्र पुगेको प्रजिअको टोलीले चीनले बनाइरहेको भवन पनि अवलोकन गरेको थियो। उक्त टोलीमा नाम्खा गाउँपालिका प्रमुख लामा पनि थिए। ‘हामी भवनमा पुगेका मात्रै थियौँ,’ असोज ६ गते थाहाखबरलाई भनेका थिए, ‘उताबाट दुई ट्रक सेना आइहाले। यो चीनियाँ भूमि हो, यहाँ तपाईंहरू बस्न पाउनुहुन्न भन्दै जान भने। माइकिङ गरे। सिडियो सा’प र हामी कसैसँग पनि यो भूमि हाम्रो हो भनेर भन्न सक्ने आधार नभएकोले निरीक्षण मात्रै गरेर फर्कियौँ।’ नेपाली सुरक्षा प्रमुखहरू त्यस क्षेत्रमा करिब २ घण्टा बसेर मात्रै तल हिल्सा जाने बाटो झरेका थिए।

त्यहाँ भएको सामान्य छलफलमा चिनियाँ सुरक्षा अधिकारीहरूले नेपाली टोलीसँग उक्त भूमि चीनकै भएको र चीनकै भूमिमा भवन बनाएको दाबी गरेका थिए। चीनले नेपाली भूमि अतिक्रमण गरेर ठूला भवन बनाएको समाचार प्रकाशित भएपछि काठमाडौंस्थित चिनियाँ राजदूतावासले विज्ञप्ती जारी गरेर चीनले आफ्नै भूमिमा भवन बनाएको भन्दै खण्डन गरिसकेको छ। यता परराष्ट्र मन्त्रालयले पनि नेपाल र चीनबीच सीमा समस्या नरहेको बताइसकेको छ।

उक्त क्षेत्र हुँदै मानसरोवर जाने तीर्थयात्रीहरू हिँड्ने गरेको गाउँपालिका अध्यक्ष लामाले बताए। चीनले अहिले भवन बनाएको ठाउँबाट खुला सीमाना हुँदा नेपालीहरू चीनको बजारमा सामान लिन जाने र चीनको सेना त्यहाँबाट साढे २ किलोमिटर पर मात्रै भेटिने गरेको गाउँपालिका अध्यक्ष सम्झन्छन्। सन्तोष अधिकारी अधिकारी समसामयिक राजनीति र खेलकुदबारे रिपोर्टिङ गर्छन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्