अवैध उत्खनन रोक्न र सडक कालोपत्रेको माग गर्दै वेदकोटका स्थानीय आन्दोलित

महेन्द्रनगर १९ मंसिर ।
कञ्चनपुरको वेदकोट नगरपालिकाका स्थानीय अवैध उत्खनन रोक्न र सडक कालोपत्रेको माग गर्दै आन्दोलित भएका छन् ।
मनपरी रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्दै कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुर र ६ घुर्सुवाका स्थानीय आन्दोलित भएका छन् ।

वेदकोट नगरपालिका–५ र ६ को सीमामा पर्ने घुर्सुवा खोलाबाट मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्दै शुक्रवार स्थानीयहरुले आवातजावत बन्द गराएका छन् ।

बेदकोट नगरपालिका–५ र ६ जोड्ने घुर्सुवा झोलुङ पुलमार्फत आवातजावत ठप्प भएको हो । आवातजावत ठप्प भए पछि सो सडकखण्ड भएर ओहोरदोहोर गर्ने मानिसलाई रोकिएका छन् । नदीजन्य पदार्थ ढुवानी गर्न प्रयोग भएका टिप्परहरुलाई स्थानीयले रोकेका हुन ।
वेदकोट नगरपालिका–६ का स्थानीय ललित विष्टले सडक कालोपत्रे र अवैध उत्थखनन् रोक्नुपर्ने मागसहित स्थानीय आन्दोलित भएको बताए । उनका अनुसार धरमपुर जोड्ने मुख्य सडकलाई कालोपत्रे गर्न स्थानीयले माग गरेका छन् ।

‘खोलाबाट मनपरी रुपमा उत्खनन भए पछि यहाँको बाटोघाटो बिग्रेको छ । बारम्बार बाटो मर्मतका लागि बनेका थियौँ तर हाम्रो माग पुरा भएन ।’ बेदकोट नगरपालिका–६ घुर्सुवाका स्थानीय केशव पन्तले भने, ‘त्यसैले आज आवातजावत बन्द गराएका छौँ ।’

अनाधिकृत रुपमा नदीजन्य पदार्थ बोकेर हुइकिने टिप्परहरुले बाटो बिगारेको स्थानीय भुवन थापाले बताए । ‘खोलामा ६र७ वटा जेसिबीले अनाधिकृत रुपमा उत्खनन् गरिरहेका छन् । नदीजन्य पदार्थ बोकेर जाने टिप्परहरुले यहाँको सडक बिग्रेको छ ।’ उनले भने ।

बिग्रेको बाटो मर्मत भए पछि मात्रै आवातजावत खोलिने उनको चेतावनी छ । नदीजन्य पदार्थ बोकेर जाने टिप्परहरुले बाटो बिगारेको सो सडकखण्ड भएर आवातजावत गर्ने स्थानीयहरुले सास्ती भोग्नु परेको स्थानीय अटो चालक नरेन्द्र पन्तले बताए ।

‘दिनहुँ यो बाटोमा अटो चलाउँछुँ, टिप्परहरुले बाटो बिगारेकोले यात्रुहरुलाई निकै सास्ती छ ।’उनले भने ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट करिब ५ किलोमिटर उत्तरमा झण्डै २ हजार ५ सय मानिसको बसोबास रहेको गाउँ (धरमपुर) छ ।

सुकुम्बासीबस्ती रहेको सो गाउँका धेरै जसो मानिस दैनिक श्रमका लागि बजार ओहोरदोहर गर्ने गरेका छन् । तर बजारसम्म जोड्ने बाटो बेहाल भए पछि सास्ती भोग्नु परेको स्थानीयको भनाई छ ।

‘यहाँको ग्राभेल लगेर अन्य ठाउँमा बिक्रि भइरहेको छ । तर त्यसबाट आउने एक पैसा पनि यहाँको विकासमा प्रयोग भइरहेको देखिन्न ।’ स्थानीय धर्मराज भट्टले भने, ‘बरु भएको बाटोघाटो पनि बिग्रेको छ । नदी कटानको जोखिम पनि बढेको छ ।’

अनाधिकृत रुपमा भइरहेको उत्खनन् बन्द गर्नु पर्ने स्थानीयको माग छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्