भारतबाट घर फर्किएका सुदूरपश्चिमका युवा फेरि भारततिरै

मोहन चन्द
बैतडी । रोजगारीको लागि भारत गएका युवाहरू कोरोनाको महामारी चलेपछि घर फर्किएका थिए । कोरोना नियन्त्रण नभएपछि र गाउँघरतिर कुनै रोजगारी नपाएपछि कोरोना कहरकै बीच उनीहरू धमाधम भारततिरै फर्किन लागेका छन् ।

चालू आर्थिक वर्षका आयोजनाहरू सञ्चालन होलान् र त्यसैमा मजदुरी गरौंला भनेर फर्किएका युवाहरू स्थानीय तहहरूले समयमै आयोजनाको काम सञ्चालन नगरेपछि रोजगारीको लागि भारततिर जान लागेका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम पनि सञ्चालन नभएकाले त्यसमा फाराम भरेका युवाहरू पनि भारत फर्केका छन् ।

‘तीन÷चार महिना पहिले रोजगारी पाइन्छ भनेर फाराम भर्न लगाएका थिए । अहिलेसम्म कुनै जानकारी नै आएन । बेरोजगारको फाराम भरेका पञ्चेश्वर गाउँपालिका–२ का स्थानीय गोविन्द चन्दले बताए । ‘गाउँमा पनि कुलोको योजना आउँछ भन्थे, आजसम्म समिति नै गठन गरेका छैनन् । काम कुर्नुभन्दा उतै जान ठीक हुन्छ’ उनले भने ।

केही युवा भारतमा पहिले काम गरेके ठाउँमै फर्किएका छन् भने केही भारतमा निर्माण क्षेत्रमा काम पाउने आशामा गएका छन् । ‘गाउँघरतिर निर्माणका कार्य सञ्चालन भए हामी मजदूरीकै लागि भारत जाँदैनौं,’ भारत जान तयार भएका युवाले बताए ।

बैतडीका दशवटै स्थानीय तहले अहिलेसम्म चालू आर्थिक वर्षका विकास निर्माणका योजनाहरूको काम शुरु गरेका छैनन् । स्थानीय तहले मात्र नभएर प्रदेश अन्तर्गतका कार्यालयहरूले पनि विकास निर्माणका योजनाहरूका काम अगाडि बढाएका छैनन् । स्थानीय तहहरूले अहिले उपभोक्ता समिति गठन गरिरहेका छन् भने प्रदेशका कार्यालयहरुले समितिसमेत गठन गरेका छैनन् ।

भारतबाट फर्की बेरोजगार भएका युवालाई स्वदेशमै व्यवसाय सञ्चालन गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले अनुदान दिने भनेर फाराम भर्न लगाए पनि अहिलेसम्म छनौट गरेको छ्रैन् । प्रदेश सरकार र प्रधानमन्त्री रोजगारकै मुख ताकेका बैतडीका स्थानीय तहले बेरोजगार युवाका लागि कुनै प्याकेज लिएका छैनन् ।
अहिले पनि दिनदिनै सीमा नाकामा रोजगारको लागि भारत जाने हजारौं युवाको भीड भइरहन्छ । उनीहरू खुलेआम भारत जान सक्दैनन् । नेपाली हो भनेर थाहा पाएमा त्यहाँको प्रशासनले नेपाल नै फर्काउने गरेको त्यता जान लागेका युवाहरूको गुनासो छ । भारतीय प्रशासनले सोधेपछि आफूहरू भारतकै भएको बताउने गरेको कृष्ण चन्दले बताए । ‘भारतकै बताए पनि विभिन्न कागजात मागेर हैरान गर्छन्’ उनले भने ।

बैतडीको सिमाना भारतसँग जोडिएको छ । जसले गर्दा यहाँका जनतालाई रोजगारीको लागि भारत जान सजिलो हुन्छ । अहिले सीमा नाका बन्द भएकाले कैलाली र कञ्चनपुर भएर जानुपर्दा खर्च समेत बढी हुने उनीहरूको गुनासो छ । ‘अहिले आर्थिक अभाव छ, अहिले नै जानको लागि खर्च पनि बढी लागिरहेको छ,’ भारत जान लागेका प्रेम सिंह मंगोलाले बताए । बैतडीका स्थानीय तहहरूले रोजगारी दिने त परको कुरा आफ्नो क्षेत्रभित्र कति जना भारतमा रोजगारी गर्छन् भन्ने यकिन तथ्यांक समेत राखेको पाइँदैन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्