काठमाडौंमा घर बनाउँदा दुई रूख अनिवार्य, ५ वटा गमला राखे पनि छुट !

२३ पुस, काठमाडौं । दुई दिनअघि काठमाडौंमा प्रदूषणले आपकालको तह पार ग¥यो । कंक्रिटको जंगल भइसकेको काठमाडौं शहरभित्र बोट विरुवा बिरलै भेटिने भएकाले पनि वातावरणीय प्रदूषण उच्च भएको विज्ञहरुले बताएका छन् ।

घरै-घरले भरिएको काठमाडौं महानगरपालिकाभित्र त झन बोट-विरुवा भेट्नु मुस्किल हुने अवस्था बनिसक्यो । काठमाडौं महानगरपालिकाले बोट विरुवा प्रवर्द्धनको लागि नीति नै नबनाएको हैन । तर, नीति कार्यान्वयन गर्न काठमाडौं महानगरपालिका जिम्मेवार ढंगले लागेको छैन ।

नियमअनुसार एक घरमा दुई वटा विरुवा नभई भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र पाइन्न । तर, यो नियम बाध्यकारी हैन ।

काठमाडौंमा २ पैसा जग्गामा पनि घर बनाउन अनुमति दिने गरिएकाले २ वटा बोटविरुवा लगाउन नसक्ने भन्दै सजिलो वैकल्पिक व्यवस्था गरिएको छ ।

काठमाडौं महानगरपालिकाले दुई वटा विरुवा रोप्न नसक्ने घरधनीले ५ वटा गमलामा विरुवा रोपेको भए निर्माण सम्पन्न गर्ने नियम पनि बनाएको छ ।

महानगरपालिकाका नक्सा विभागका प्रमुख सुरज शाक्यका अनुसार काठमाडौंमा जग्गा थोरै मात्रै उपलब्ध रहेको सबैले दुईवटा विरुवा रोप्ने अवस्था नरहेको बताए ।

‘त्यसैकारण ५ वटा गमलामा विरुवा रोपेमा नक्सा जाँचपास हुन्छ, निर्माण सम्पन्न भएको प्रमाणपत्र समेत दिन्छौं,’ उनले भने,’सबै घरमा विरुवा रोप्न ठाउँ हुँदैन, तर कोसीमा गमालामा विरुवा रोप्न धेरैजसोलाई सहज नै छ ।’

गमलामा कस्ता विरुवा रोप्ने भन्ने नियम पनि छैन । गमलामा तरकारी र सिजनल फलफूलकै विरुवा रोपेपनि महानगरपालिकाले निर्माण सम्पन्न भएको प्रमाणपत्र दिन्छ ।

रुख नै अनिवार्य गर्दा व्यवहारिक नहुने र कतिपय घरमा जग्गा उपलब्ध भएपछि घाम नलाग्ने भएकाले विरुवा हुर्किन नै सम्भव नहुने शाक्य बताउँछन् ।

‘मेरै घरको कौसीमा पनि ९० भन्दा बढी गमला छन्,’ उनले भने,’तर घरको पछाडि खाली भागमा विरुवा रोपेपनि बच्नै सकेनन् ।’

जमिन उपलब्ध भएसम्म घरधनीले विरुवा रोप्न रुचाउने र जग्गा नै नभएको खण्डमा कौसीमा गमलाको उपयोग भइरहेको तर्क शाक्यले गरे । यसले गर्दा काठमाडौंमा हरियाली प्रवर्द्धन गर्न थोरै भएपनि मद्धत मिलेको शाक्यको दावी छ ।-अनलाइनखबर

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्