स्थानीय सरकारको नेतृत्वपछि भीमदत्तमा सडक र अन्य पूर्वाधार निर्माणमा तिव्र विकास

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानीय सरकारको नेतृत्व पाएको करिब चार वर्षमा विकास निर्माण कार्यमा फड्को मारेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पुर्वाधार निर्माण कार्यलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको पाईन्छ । नगरपालिकाले हरेक वडा वडामा आफ्नै वडा कार्यालय भवन निर्माण देखि नयाँ सडक निर्माणमा जोड दिएको छ ।
नगरपालिकाले उत्तरतर्फ चुरे फेदीमा धार्मिक पर्यटन मार्ग र दक्षिणतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारमा पर्यटकीय मार्ग निर्माण गरेको छ । यसलाई ८१ किलोमिटर लामो नगरको बाहिरी चक्रपथ निर्माणको रूपमा पनि लिइएको छ । यसले नगरपालिकाको किनार क्षेत्रकन स्थानीयको जन जिविका फेरिको छ ।
पछिल्लो ४ वर्षको अवधीमा नगरपालिकामा ४८ किलोमिटर सडक कालोपत्रे भएको छ । १७ किलोमिटर नयाँ र ५ किलोमिटर पदमार्गसँगै २४७ किलोमिटर सडक पनि ग्राभेल भएको छ । चुरे फेदीमा २०\२२ मिटर चौडाइको २९ किलोमिटर धार्मिक पर्यटन मार्ग र ५ किलोमिटर बढी शुक्लाफाँटा पर्यटन मार्ग निर्माण भएको छ । जुन नगरपालिकाको सबैभन्दा ठूलो र बाहिरी चक्रपथको योजना हो ।
लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनका लागि नगरपालिकाले लगानी साझेदारीसँगै ठुलो पहल गरेको छ । तिन वटै सरकारको लगानी साझेदारीमा विमानस्थलको पुनः निर्माण कार्य अघि बढेको छ ।
एसियाली विकास बैंकको ग्रामीण शहरी विकास कार्यक्रमअन्तर्गत अहिले महेन्द्रनगर बजार क्षेत्रको १४ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । महेन्द्रनगर बजारका गल्लीहरू १० मिटर र मुख्य सडकहरू २० देखि ३० मिटरसम्म चौडा हुनेछन । सडकको दुवैतर्फ साइकल लेन, फुटपाथदेखि वृक्षरोपण समेत गरिनेछ । एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुन सके थप २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । तर यसका लागि पहिलो सर्त्त फोहोरमैला व्यवस्थापन केन्द्र नै छ । करिब ३ अर्व वजेट रहेको कार्यक्रममा फोहोरमैला व्यवस्थापन केन्द्रका लागि मात्रै ६० करोड छुट्याइएको छ । बाँकी रकम सडक स्तरोन्नतिमा खर्च गरिनेछ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुन नसके बाँकी रकम फिर्ता जानेछ ।
यसअघि पनि बजार क्षेत्रमै सघन शहरी विकास कार्यक्रम अन्तरगत नगरपालिकाको विभिन्न क्षेत्रमा ४० किलोमटर सडक कालापत्रे तथा स्तरोन्नति भएको छ । नगरकै सबैभन्दा दुर्गम मानिने वडा नं. ९ को खल्ला मुसेट्टीसम्मै सडक, विद्युत् र टेलिफोन सेवा सञ्चालनमा आएको छ ।
नगरपालिकाले सबै वडामा आफ्नै कार्यालय भवन निर्माण गरिरहेको छ । जसमा अधिकांश सम्पन्न भई सकेका छन् भने केही निर्माणको अन्तिम चरणमा रहेका छन् । त्यस्तै नगरपालिकाले करिब १६ करोडको लागतमा मुख्य प्रशासनिक भवन पनि निर्माण गरिरहेको छ । नगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण तथा वातारणमैत्री पालिका निर्माण गर्ने उद्देश्यका साथ भीमदत्त–१८ मा ईको खुला जिमसहित ईको पार्क र अन्य वडामा उद्यान निर्माण गरेको छ ।
चालु आर्थिक वर्षमा पनि उपभोक्ता समितिमार्फत १ सय बढी र ठेक्कामार्फत ९ वटा योजनाहरूमा सम्झौता भएको नगरपालिकाको योजना शाखाले जनाएको छ ।
नगरपालिकाको १९ वटै वडा कार्यालयका भवन निर्माणको अन्तिम चरणमा छन । सबै वडामा आधारभूत स्वास्थ्य सेवाका लागि पनि भौतिक पूर्वाधार निर्माणसँगै सञ्चालन गरिएको छ । ज्येष्ठ तथा अपांगता भएका र एकल महिलालाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ । ‘चुनावका बेला गरेका प्रतिबद्धताहरू धेरै पूरा भएका छन्, कोरोना संक्रमणको भयावह अवस्थामासमेत हामीले उल्लेख्य काम गरेका छौं,’ नगर प्रमुख विष्टले भने, ‘एक÷डेढ वर्ष त हामी कोरोना संक्रमण न्यूनीकरणमै व्यस्त भयौं, सुरुमा कोरोना संक्रमण देखिदा भारतबाट घर फर्किनेको व्यवस्थापन पनि निकै राम्रो भएको थियो, त्यही व्यवस्थापनका कारण संक्रमण फैलिनबाट जोगियो ।’ भीमदत्त नगरपालिकाले सेवा प्रवाहका लगि पुर्वाधार अति आवश्यक भएकाले त्यसको निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।
भीमदत्त नगरपालिकाले महेन्द्रनगरमा प्राविधिक शिक्षा अध्ययन गर्न महाकाली बहुप्राविधिक शिक्षालय पनि सञ्चालनमा ल्याएको छ । पर्यटन विकासका लागि झिलमिला र बाह्रकुण्डा तालहरूको संरक्षणसँगै शुक्लाफाँटा पर्यटन महोत्सव पनि सञ्चालन गर्दै आएको छ । महाकाली नदीको बहुउपयोग गर्ने नीति अनुरूप भीमदत्त नगरपालिका— ९ खल्ला मुसेट्टीमा ¥याफ्टिङको सफल परिक्षण गरिएको छ । उक्त क्षेत्रमा भरतीय पक्षले यसअघि नै ¥याफ्टिङ सञ्चालनमा ल्याएको छ । सरकारले अनुमति नदिदा नेपालतर्फबाट ¥याफ्टिङ सुचारु हुन सकेको छैन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्