महेन्द्रनगर । सुदूरपश्चिमकै ट्रेड आन्दोलनका एक अगुवा नेताको रुपमा चिनिने नाम हो धर्मानन्द पन्त । २०४८ को प्रतिनिधिसभाको निर्वाचनपछि काँग्रेसको सरकार बन्यो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री शेर बहादुर देउवा थिए । कोइराला सरकारले निजामति कर्मचारीमाथि गरेको ज्यादतीविरुद्ध आन्दोलन चर्कियो । कञ्चनपुरमा सवारी चालकको रुपमा कार्यरत धर्मानन्द पन्त पनि आन्दोलनमा होमिए ।
काँग्रेसकै नेताहरुको सुराकमा सरकारले उनलाई नौकरीबाट निकाल्यो । त्यसपछि मजदुरहरुलाई संगठित गर्दै नेपाल ट्रेड युनियन महासंघको महाकाली अञ्चलको नेतृत्वमा पुगे । त्यसपछि केन्द्रीय नेतृत्वमा समेत पुगे । सालघारी क्षेत्रका सुकुम्बासी मजदुरहरुको हकहितका लागि पनि पन्तले लामो समय आन्दोलन गरे । तत्कालिन नगर विकास समिति विरुद्ध सुकुम्बासीलाई जमिन उपलब्ध गराउन माग गर्दै उनकै नेतृत्वमा आन्दोलन समेत चल्यो ।
नेता पन्तको मृत्युपछि मजदुरको नेतृत्व छोरो महेश प्रशाद पन्तले लिए । उनी पनि मजदुरको हकहितसंगै जमिन उपलब्ध गराउन निरन्तर आन्दोलनमै छन् । मजदुर नेताको विरासत थामेका तिनै पन्त अहिले भीमदत्त नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका छन् । पन्तलाई नेकपा एमालेले भीमदत्त नगरपालिकाको प्रमुखको उम्मेदवार बनाएको छ । युवा र विद्यार्थीमाझ लोकप्रिय पन्त जनज्योति काण्डका ज्युदा शहीदका नामले चिनिन्छन् ।
२०५८ मा राजा ज्ञानेन्द्रले कु गर्दै सत्ता हातमा लिएर संकटकाल घोषणा ग¥यो । राजनीतिक दलका नेताहरुलाई नजरबन्दमा राख्न थालियो । सेनाको गतिविधिहरु बढन थाले । सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरु समेत त्रसित हुन थालेका थिए । सोही समयमा अनेरास्ववियुका नेताहरु महेश पन्त, बचन बहादुर सिंह र नरबहादुर धामीले कञ्चनपुरमा राजाको कु विरुद्ध आन्दोलन चर्काउनुपर्नेमा केन्द्रित भए । यहि विषयमा जनज्योति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको भेला आयोजना गरिएको थियो । भेला स्थलमा चारैतिरबाट ततकालिन शाही नेपाली सेनाले घेरा हाल्यो । अन्धाधुन्ध गोली चल्यो । पन्तलाई सुताएर खुट्टामा गोली हानियो ।
लामो समयको उपचारपछि केही सन्चो लागेका पन्तको शरिरमा अहिले पनि गोलीका छर्रा छन् । तिनै गोलीका छर्रा उनि चुनावि घरदैलो अभियानमा दौडिरहेका छन् । मावि तहमा अध्ययनरत पन्तलाई पनि बुवामाथि भएको अन्यायबारे सबै थाहा थियो । त्यहि कारणले उनी उच्च तहमा अध्ययन गर्दा अनेरास्ववियुमा संगठित भए । उच्च शिक्षा अध्ययनकै क्रममा उनी २०६२ मा तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत भए । अनेरास्ववियुमा आबद्ध भएदेखि उनले जिल्लामा निरन्तर संगठन सुदृढिकरणमा योगदान दिइरहे । त्यसकै फलस्वरुप उनी सहजै स्ववियु सभापति समेत हुन सफल भए ।
कानुनमा स्नातक महेश शैक्षिक रुपमा पनि अब्बल मानिन्छन् । जिल्लाकै पुरानो र ठुलो नगरपालिकाको नेतृत्व लिन यतिबेला पन्त घरदैलो कार्यक्रममा छन् । उनले सुशासनदेखि विकास निर्माणका विभिन्न योजनाहरु अघि सारेका छन् । ‘विद्यार्थी अवस्थादेखि नै विपन्न र मजदुरका लागि लडिरहेको छु, अब नगरपालिकामा पनि नमुना विकास गरेर देखाउन सक्छु,’ उनले भने, ‘बुवादेखि न्यायको लडाइमा लागेका हामीले यो क्षेत्रका जनताको माया पाउनेमा विश्वस्त छु ।’