दुर्गमको नमुना स्वास्थ्य चौकी ‘देखतभुली’

गत वर्ष केयर नेपालको सहयोगमा गैर सरकारी संस्था निड्स नेपालले भ्याक्सिन राख्ने फ्रिज (आइएलआर फ्रिज) सहयोग गरेपछि खोप सेवा समेत नियमित भएको छ ।

महेन्द्रनगर । लालझाडी गाउँपालिका जिल्लाकै दुर्गम क्षेत्र मानिन्छ । सडक सञ्जाल होस वा स्वास्थ्य र शिक्षा सबै क्षेत्रमा यो क्षेत्र पछाडि परेको छ । रानाथारु समुदायको बाहुल्यता रहेको उक्त क्षेत्र विकास निर्माणका हिसाबले समेत निकै पछाडि छ । यहि ग्रामिण भेगको एउटा स्वास्थ्य चौकी भने जिल्लामै नमुना बनेको छ । लालझाडी गाउँपालिका ५ को देखतभुली स्वास्थ्य चौकी जिल्लाकै नमुना स्वास्थ्य संस्था बनेको हो ।
देखतभुली स्वास्थ्य चौकीको सेवा क्षेत्रमा घरमा सुत्केरी हुनेको संख्या शुन्य छ । खोपको प्रगति सत प्रतिशत छ । कुपोषित वालवालिका कहिँ पनि छैनन् । कुपोषणका सामान्य लक्षण देखिने वितिक्कै स्वास्थ्यकर्मीहरु गएर उपचार गरिहाल्छन् । घर परिवारलाई पोषिलो खानेकुरा खुवाउने तरिकाहरु सम्झाउछन् ।


‘घरमा सुत्केरी हुने संख्या शुन्य पुगेको छ, खोपको प्रगति पनि शत प्रतिशत छ,’ स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेव लिलाकान्त झाले भने, ‘सबै स्वास्थ्यकर्मी र स्थानीयको सहयोगले स्वास्थ्य चौकीलाई नमुना बनाउन सफल भएका छौं ।’ स्वास्थय चौकीको भवन देखि शौचालय सबै अपांग मैत्री छन् ।
२०४५ मा स्थापना भएको देखतभुली स्वास्थ्य चौकी लालझाडी र कृष्णपुर नगरपालिकाको सिमानामा पर्दछ । दुवै पालिकाकामा सेवा दिइरहेको छ । अहिले उक्त स्वास्थ्य चौकीमा खोप लगाउने वालवालिका ६४ र नियमित जा“भ गर्नुपर्ने महिलाको संख्या ६६ रहेको छ । प्रसुती सेवाका लागि वर्षमा अढाइ सयको हाराहारीमा आउने गरेको झाले बताए ।
विगतमा महिनामा एक दिन मात्रै खोप लगाइन्थ्यो । जिल्ला सदरमुकाम महेन्द्रनगरबाट वा लालझाडी गाउ“पालिकाकै सदरमुकाममा रहेको स्वास्थ्य चौकीबाट खोप ल्याएर लगाइन्थ्यो । गत वर्ष केयर नेपालको सहयोगमा गैर सरकारी संस्था निड्स नेपालले भ्याक्सिन राख्ने फ्रिज (आइएलआर फ्रिज) सहयोग गरेपछि खोप सेवा समेत नियमित भएको झाले बताए । उनका अनुसार अहिले दिनहु खोप लगाउने सकिने अवस्था आएको हो ।

‘देखतभुली स्वास्थ्य चौकीमा फ्रिज नहुदा निकै समस्या थियो, खोप ल्याउन लैजानै समस्या थियो,’ निड्सका कार्यक्रम संयोजक केशव मलासीले भने, ‘दुर्गमको स्वास्थ्य संस्थामा केही सहज होस भनेर हामीले सहयोग गरेका हौं ।’ उनले फ्रिज उपलब्ध गराएपनि स्वास्थ्य चौकीको खोप सेवामा उल्लेख्य सुधार आएको बताए ।
कोरोना विरुद्धको खोप लगाउन फ्रिजको अभावमा निकै समस्या भएको झाले बताए । उनका अनुसार एकजना स्वास्थ्यकर्मीको काम खोप बोक्ने मात्रै हुन्थ्यो । बिहान खोप ल्याउने र सा“झ बाचेपछि फेरी पु¥याउने का मगर्नुपथ्र्याे । तर अहिले आसपासका अन्य स्वास्थ्य चौकीका लागि समेत खोपहरु फ्रिजमा मौज्दात राख्न सकिने भएको छ ।


‘फ्रिज उपलब्ध भएपछि हामीलाई निकै सहज भएको छ,’ झाले भने, ‘विगतको जस्तो धेरै ल्याउदा बिग्रिने र थोरै ल्याउदा अभाव हुने जस्ता समस्याबाट मुक्ति भएको छ ।’उनका अनुसार फ्रिज आएपछि खोप सेवा पनि नियमित् भएको हो । २५० लिटर क्षमताको उक्त फ्रिजमा २ देखि ८ डिग्री सेल्सियस सम्म तापक्रम मिलाएर राख्न सकिन्छ । यसका अनुगमन पनि सवचालित रुपमै हुन्छ ।
देखतभुली स्वास्थ्य चौकीको आधार क्षेत्रमा कोरोना विरुद्धको खोप लगाउने अभियान पनि निकै प्रभावकारी भएको छ । उक्त क्षेत्रमा ९५ प्रतिशत बढीले खोप लगाइसकेको झाले बताए । पुरानो स्वास्थ्य संस्था र जनशक्ति पनि राम्रो भएका कारण यस क्षेत्रमा स्वास्थ्य सेवामा सुधार देखिएको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्