एमाले सुदूरपश्चिमको अध्यक्षमा चार जनाको उम्मेदवारी

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत पदम पालका अनुसार अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिए । निवर्तमान प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सिना, अछामका पूर्व जिविस सभापति एवंम् प्रदेश सचिवालय सदस्य कृष्णप्रसाद जैशी, संविधानसभा सदस्य तथा अछामकै पूर्व अध्यक्ष भरत साउँद र प्रदेश सचिवालय सदस्य वचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
दिउँसो साढे १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ भने साँझ ५ बजे मतदान हुने निर्वाचन कमिटीले जनाएको छ । आइतबारदेखि सुरू भएको प्रथम अधिवेशनमा नेताहरूले नेतृत्व चयनका लागि सहमतिको प्रयास गरेका थिए, तर सहमति जुट्ने अवस्था नदेखिएपछि स्वस्थ प्रतिस्पर्धा गर्न भन्दै धनगढीमा रहेका महासचिव शंकर पोखरेल सोमबार दाङ गएका छन् ।
अध्यक्ष केपी शर्मा ओली पोखरेललाई सुदूरपश्चिम प्रदेश अधिवेशनको जिम्मा दिएर आइतबार नै काठमाडौं फर्किएका थिए । महासचिव पोखरेलले बन्द सत्रलाई थाति राखेर सोमबार दिउँसोसम्म सहमतिको प्रयास गरेका थिए तर सफल नभएपछि केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई जिम्मा दिएर फर्किएका हुन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्